बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ खजुरा स्थित रहेको कोसेबाली अनुसन्धान कार्यक्रममा हावाहुरी सहितको असिना पानीले क्षति पुर्याएको छ । सोमबार आएको हावाहुरीका कारण भएको क्षतिले कार्यालयको नियमित कामकाजलाई समेत प्रभावित पारेको कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. अनिल कुमार पोखरेलले जानकारी दिए ।
हावाहुरी सहित परेको असिना पानीका कारण कार्यालय भित्र रहेको तालिमहलको छाना पुरै उडाइदिएको छ । छाना उडाएपछि पानि तथा हावा भित्र पसि तालिम हल भित्र रहेका फर्निचर, सोफा, कुर्सी, टेवुल, टिभि, प्रोजेक्टर, एसी, सिलिङ पंखाहरू विग्रनुका साथै सिलिङमा लगाइएको फर सिलिङ पूर्ण रूपमा क्षति भएको संयोजक डा. पोखरेलले जनाए । विभिन्न दाल बालीको अनुसन्धानका लागि बनाइएको प्लाष्टिक टनेल हाउसमा पनि पूर्ण रूपमा क्षति पुगेको छ । अनुसन्धान तथा विउ उत्पादनका लागि लगाइएको मुंग, मास, बोडि पूर्ण रूपमा क्षति भएको छ ।
कार्यालय क्षेत्रमा रहेको विद्युतका तारहरू चुडिदा कार्यालयका नियमित कामहरू गर्न नसकिएको संयोजक डा. पोखरेलले जनाए । कार्यालय भित्र पानी धेरै पसेकाले विभिन्न कागजात भिजेको, अतिथि गृह, गैरेज, ल्याव विल्डिङका झ्यालहरूमा भएको सिसा पुर्णरूपमा फुटि क्षति पुगेको छ ।
गोदाम भित्र भण्डारण गरि राखेको तथा विभिन्न बालिहरू परिक्षण कटानी गरी राखेकोमा हावा तथा पानी भित्र पसि अधिक रूपमा क्षति पुगाएको कोसेबाली अनुसन्धानले जनाएको छ । तिव्र वेग गसै आएको हावाहुरी र असिना पानिका कारण कोसेबालीमा भएको क्षतिले अनुसन्धानत्मक कार्यलाई थप असर गरेको छ ।