सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानून ब्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् ।
सार्वजनिक सरोकारका मुद्दामा वकालत गर्दै आएका कानून ब्यवसायीहरूले आइतवार प्रमुख जिल्ला अधिकारी रिजालसंग भेटघाट गरि फैसला कार्यान्वयनमा जोड दिंदै प्रशासनको ध्यानाकर्षण गराएका हुन ।
अधिवक्ता बसन्त गौतमका अनुसार, उच्च अदालतबाट राम्रा फैसला भए पनि कार्यान्वयमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको हो । ‘नागरिकता लगायत शिक्षा, स्वास्थ्य, खाद्य, बातावरण लगायतका मानव अधिकारको संरक्षण र सामाजिक न्यायसंग सम्बन्धित बिभिन्न मुद्दामा हाम्रो गम्भीर चासो रह्यो,’ अधिवक्ता गौतमले दैनिक नेपालगन्जसँग भने ।
प्रमुख जिल्ला अधिकारीसंगको छलफलमा फौजदारी न्याय, स्वच्छ सुनुवाई, सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाको कार्यान्वयनका सवालमा छलफल भएको छलफलमा संलग्न अधिवक्ता बल बहादुर चन्दको भनाइ छ । चन्दका अनुसार, फौजदारी मुद्दाको स्वच्छ सुनुवाईका इजलास कक्षको स्थापना गर्ने, जिल्ला प्रशासन कार्यालयमा पनि मुद्दाको सुनुवाईको ब्यवस्था हुनु पर्ने कुरामा अधिकारकर्मीले जोड दिएका थिए ।
छलफलका क्रममा नागरिकताका बिषयमा अदालतबाट भएका फैसला कार्यान्वयन नभएको बिषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको अधिवक्ता बिश्वजित तिवारीले बताए । उनका अनुसार, कानून ब्यवसायीसंगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले फैसला कार्यान्वय र इजलास स्थापनामा प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । छलफलमा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्की पनि सहभागी थिए ।