कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

नेपालगन्ज । पुनः प्रयोग गर्न सकिने न्यानो कपडा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कोहलपुर शाखाको अगुवाइमा कपडा संकलन अभियान सुरु भएको छ । पछिल्लो समय चिसो बढ्दै जाँदा विपन्न समुदायका व्यक्तिहरु बढी प्रभावित भएकाले उनीहरुलाई न्यानो बनाउन मानवीय सहायताका लागि उक्त अभियान सुरु गरिएको हो ।
‘न्यानो रहौं, न्यानो बनाऔँ’, ‘मन हुनेले दिउँ, मन खोलेर लिऊँ’, ‘कपडा खेर नजाओस्, सबैको काम आओस्’ भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको सामाजिक अभियान्ताहरुले बताएका छन् । यसले जाडोबाट कठ्यांग्रिएका व्यक्तिलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर, नेपाल रेडक्रस सोसाइटी कोहलपुर, बेटर बाँके, कोहलपुर जेसिस, लायन्स क्लब कोहलपुर, लायन्स क्लब कोहलपुर सयपत्री र लायन्स क्लब कोहलपुर व्यावसायिक संस्था यस अभियानमा लागेका छन् । कोहलपुरका विभिन्न वडामा शुक्रबारसम्म कपडा संकलन हुनेछ । संकलित कपडा लक्षित वर्गसम्म लगिने बताइएको छ ।
आफूले प्रयोग गरेर राखेका तर, पुनः प्रयोग गर्न सकिने कपडाहरु सबैले सहयोग गरेर यस अभियानलाई सफल बनाउनु पर्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जनाए । ‘प्रयोग नभएर राखिएका कपडा कसैका लागि ठूलो राहत हुन सक्छ भने किन मानवताको काम नगर्ने,’ उनले भने, ‘दिनेले खुला दिलका साथ दिनुपर्छ ।’ योसँगै रातिको समयमा त्यस्ता लक्षित वर्गहरु चिसोले निदाउनसमेत समस्या भएकाले ओढ्नेओछ्याउने कपडासमेत सहयोगीहरुले सहयोग गर्नुपर्ने उनले जनाए ।
मंगलबार रेडक्रस उपशाखाको कार्यालयमा ईलाका प्रहरी कार्यालय डिएसपी सुन्दर तिवारी, उत्तम ढकाल, कल्पना काफ्ले, अन्जना पाण्डे, दिनेश सिग्देल, कुसुम पोखरेल, ऋषि थापालगायतको उपस्थितिमा बैठक बसेको थियो । सो बैठकले उक्त निणर्य गरेको हो ।

Exit mobile version