नेपालगन्ज–१८ ले ग्रामीण बस्तीका लागि अघि सारेको पीसीसी सडक अवधारणालाई तिव्रता दिएको जनाएको छ । वडाध्यक्ष दीपक कुमार बर्माका अनुसार, पुराना र साँघुरा बस्तीमा सडक क्षेत्रफल बढाउने अवस्था नरहेपछि त्यस्ता ठाउँमा आरसीसी नाला सहित पीसीसी सडकलाई प्राथमिकतामा राखेर सडक सुधार गर्न थालिएको हो ।
‘जसरी पनि बस्तीलाई व्यवस्थित सडक उपलब्ध गराउनु पर्छ भन्ने मान्यताका साथ आफ्ना योजनालाई अगाडि बढाएको छ’, शनिबार नेपालगन्ज–१८ भगवति टोलमा थप १० लाख लागतको आरसीसी नाला सहित पीसीसी सडक निर्माण शुभारम्भ गर्दै वडाध्यक्ष बर्माले भने । उनका अनुसार, सकेसम्म सडक क्षेत्रफल चौडा बनाएर आरसीसी नाला सहित कालो पत्रे गर्ने योजनालाई अघि सारिएको छ । ‘तर, केही गरी सडक क्षेत्रफल बढाउने अवस्था नरहेको खण्डमा पीसीसी सडक भएपनि साना गाडी, एम्बुलेन्स र सकेसम्म दमकल नै पुर्याउन सक्ने सडक सुधार कार्य अगाडि बढाइएको छ’, वडाध्यक्ष बर्माले भने ।