बहस

तिमी अन्यायको विरुद्ध कसरी नारा लगाउन सक्छौ ? तिम्रो मुख त जुठोपुरो भरिएको छ – खलिल जिब्रान

बाजेको सेकुवामा पत्रकार महासंघ बाँकेको आज १४ औं साधारण सभा र अधिवेशन हुँदैछ । कार्यक्रम, भेनु र आयोजक आफैँमा अर्थपूर्ण, सन्देशमुलक, पक्षधरता हुन्छन् । देशैभरी मिडियाप्रति प्रश्न उठेको बेला बाँके पनि अछुतो छैन । शक्तिसँग प्रश्न उठाउने संस्था प्रति उठ्ने प्रश्नको पत्यारिलो जवाफ दिन आवश्यक हुन्छ । आफ्ना गुम्दै गएको आदर्शको जानकारी पहिला आफैँलाई हुन्छ ।

पुरानैखाले मिडियालाई अहिले डिजिटल प्लेटफर्मले चुनौति दिए । भारतको हालै सम्पन्न चुनाव उदाहरण बन्यो । शक्तिसँग प्रश्न हराएका बेला सत्ता प्रायोजित सूचना र समाचारलाई फयाक्ट चेकले नांगेझार पारे । विश्वसनियता, प्रतिष्ठित पत्रकार, विचारक र विश्लेषकहरुलाई मिडियाबाट निष्कासन गरेपछि मौन बसेनन् । डिजिटल प्लेटफर्म रोजे । प्रविधिलाई समुचित उपयोग गरेर सत्ता र करपोरेट मिलीभगतलाई चुनौति दिएर हायल कायल बनाए ।

विज्ञापनको दवाव, शक्तिको चाकरी, सत्ताको वफादारीका पत्रकारिताले राज्यको चौथो अंगको हैसियत गुमाउँछ । मिडियाको गौरवशाली भूमिकाले मात्रै मिडियाकर्मीले सार्वजनिक सम्मान पाएको हो । यसै वर्षको ६ महिनामा मात्रै २०जना फिलिस्तिन र ५ जना अन्यत्रगरी २५ पत्रकारको हत्या भैसकेको छ । सन २०२३ मा १ सय२० मिडियाकर्मी मारिए । जसमा ११ जना महिला थिए ।

अरुले बनाएको गौरवताको हकवाला हुन गौरवताको निरन्तरता र पक्षधारिता आवश्यक हुन्छ । इतिहासको बिरासतले मात्र वर्तमान चल्दैन । त्यसका सन्दर्भ र आवश्यकता पनि बुझ्नु जरुरी हुन्छ । धाराको अनुकुल बहनु त मरेको माछा वा चम्चा र दलाली हो । जिउँदो माछा त धाराको प्रतिकुल पनि चल्छ । पत्रकारिताले प्रश्न र जिज्ञासा उत्पादन गर्नु हो । अहिले हराउँदै गए ।

टाउके गिदी चिलाउन थालेपछि लेख्न थाल्छु । साेंच्न बाध्य गराउने दिमागले मलाई कुनै पनि विषय, घटनालाई हेर्ने चश्माको पावर बढाएपछि आँखाँ दृष्टिमा फेरिदिन्छ । सोच्नेतरिका फेरिएर दृष्टिकोण बन्छन् । पत्रकारिता कुनै आवधिक नोकरी पेशा हैन । सम्मान दिन नसकेपनि शुद्धिकरणका नाममा गौरवताको निरन्तरता दिने पुर्खाको अपमान गर्ने छुट र अधिकार कसैलाई हुँदैन ।

अहिले पत्रकार र पुलिसलाई समाजले उस्तैउस्तै सोच्नथाल्यो । सामने हुँदा आतङ्कित, प्रशंसा गर्छ, तर छायाँ पर हुने बित्तिकै आलोचक बन्छ । न नजिक, न दूरी … सुरक्षित हुन चाहन्छ । न बैर, न दोस्ती । दुवैमा दुख झेल्नु पर्छ भन्ने समाजिक मान्यता विकास हुँदै गए । यो न्यारेटिभ नफेरी पत्रकार, कमजोरको अभिभावक र सामाजिक प्रवक्ता बन्न सक्दैन । मिडियाको पुँजी र शक्ति भनेको पाठक, श्रोता वा द्रष्टाको –(मिडिया उपभोक्ता) विश्वास आर्जन गर्नु हो । कमजोर वर्ग, समूह र व्यक्तिको आवाज उठाउनु हो । भ्रमित सोच र सूचनालाई ध्वस्त गरेर नयाँ धारणा बनाउँदै कमजोरलाई उर्जादिन तर्क र तथ्य दिनु हो । के अधिवेशनले आफुलाई समीक्षा गर्ला ? गौरवशाली इतिहासका अग्रजहरुलाई यथाचित सम्मान दिएर सम्मानित हुन सक्ला ? कि आफैप्रति प्रश्न उठाउने अवस्था छोड्ला ? (लेखक वरिष्ठ पत्रकार हुन्)

Exit mobile version