लुम्बिनीमा मातृ मृत्युदर देशमै उच्च

लुम्बिनीमा मातृ मृत्युदरको तथ्यांक बढ्दो देखिएको छ । पछिल्लो तथ्यांकमा लुम्बिनी प्रदेशमा मातृ मत्युदरको संख्या देशमै उच्च रहेको देखिन्छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा नेपालमा पहिलो पटक राष्ट्रिय जनगणनासँगै मातृ मृत्यु सम्बन्धी अध्ययन पूर्ण गणनाको रूपमा सकिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय कार्यालयले जनगणनाका क्रममा संकलन गरेको मातृ मृत्युदरको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय कार्यालयका अनुसार, लुम्बिनी प्रदेशमा मातृ मृत्यु प्रतिलाख २ सय ७ जना रहेको छ । अध्ययन अनुसार नेपालमा मातृ मृत्यु अनुपात (प्रति लाख जिवित जन्ममा) १५१ रहेको छ । मातृ मृत्यु कम हुने प्रदेशमा बागमति प्रदेश रहेको छ । जसमा प्रतिलाख ९८ जना मातृ मृत्यु हुने गरेको छ ।
राष्ट्रिय जनगणना २०७८का अनुसार, महिलाको प्रजनन् अवस्थाको नतिजा अनुसार लुम्बिनी प्रदेशमा १५–४९ वर्षका विवाहित महिला (११,२६,८१७ जना) मध्ये १२.४ प्रतिशतले गणनाको समयसम्म कुनै पनि जीवित बच्चा जन्माएका छैनन् भने २ जना जीवित बच्चा जन्माएका महिलाको संख्या सबैभन्दा बढी ३३.४ प्रतिशत रहेको छ ।
गणनाको समयसम्म १ जना मात्र जीवित बच्चा जन्माउने विवाहित महिला २२.९ प्रतिशत रहेका छन् भने ७ वा सो भन्दा बढी जीवित बच्चा जन्माउने महिला ०.९ प्रतिशत रहेको छ । १५–४९ वर्षका कुल ११ लाख २६ हजार ८ सय १७ जना विवाहित महिलाले २३ लाख ३२ हजार ९ सय ९३ जना बच्चा जन्माएका थिए । जसमध्ये छोरा ५२.४ प्रतिशत र छोरी ४७.६ प्रतिशत रहेका छन् । कुल जीवित जन्मेका बच्चाहरूमध्ये ३.९ प्रतिशतको मृत्यु भएको थियो । मृत्यु भएका बच्चाहरूमध्ये छोरा ५७.५ प्रतिशत र छोरी ४२.५ प्रतिशत रहेका थिए ।
लुम्बिनी प्रदेशमा गणनाको दिनदेखि १२ महिना अघिको समयमा कुल ७६ हजार २ ुउ ४३ जना बच्चाको जन्म भएको थियो जसमध्ये ३९ हजार ८ सय ६४ जना अर्थात ५२.३ प्रतिशत छोरा र ३६ हजार ३ सय ७९ अर्थात् ४७.७ प्रतिशत छोरीको जन्म भएको थियो । १ वर्षको अवधिमा जन्मेका बच्चाहरूमध्ये सबैभन्दा धेरै ३५.९ प्रतिशत बच्चाको जन्म २०–२४ बर्षका महिलाबाट भएको थियो ।

यस्तो छ, बाँकेको अवस्था
बाँकेमा पनि मातृ तथा शिशु मृत्युको संख्या चिन्ताजनक रहेको छ । सुविधा सम्पन्न अस्पताल रहेको बाँकेमा गर्भवति, सुत्केरी तथा नवजात शिशुको मृत्यु हुने गरेको छ । बाँकेमा बाँके मात्रै नभएर पश्चिम क्षेत्रका विभिन्न जिल्ला बाट जटिल अवस्थामा गर्भवतिलाई अस्पताल पुर्याइने गर्दछ । जटिल अवस्थामा गर्भवति तथा नवजात शिशु अस्पताल पुग्दा मृत्युको क्रममा रोकिएको छैन ।
बाँकेमा आर्थिक बर्ष २०७९÷८० मा बाँकेमा १ सय ४२ नवजात शिशुको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा बाँकेमा २ सय ५० जना नवजात शिशुको मृत्यु भएको थियो । मृतक नवजात शिशुहरू बाँके बाहेकका जिल्लाबाट बाँकेमा उपचारका लागि आएका समेत हुन् । आर्थिक बर्ष २०७९÷८० मा नेपालगन्जमा ९७ जना, कोहलपुरमा ३३ जना, नरैनापुरमा ४ जना र डुडुवा गाउँपालिकामा ४ जना, खजुरामा २ जना र राप्तीसोनारी गाउँपालिकामा २ जनाको मृत्यु भएको थियो ।
आर्थिक बर्ष २०७९÷८० मा बाँकेमा १८ जना गर्भवती, सुत्केरीको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेको पछिल्लो तथ्यांक अनुसार, बाँकेको नेपालगन्जमा तीन जना आमाको मृत्यु भएको छ । गत बर्ष नेपालगन्जमा ५ जना आमाको मृत्यु भएको थियो । गत बर्ष बाहिरी जिल्लाबाट उपचारका लागि आएका सात गर्भवती तथा सुत्केरीको नेपालगन्जमा मृत्यु भएको थियो ।
गत आर्थिक वर्षमा नरैनापुर गाउँपालिकामा चार जना, खजुरा गाउँपालिकामा तीन जना, राप्तीसोनारी गाउँपालिकामा दुई जना, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिकामा एक–एक जना गर्भवती÷सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
गत पुस अन्तिम साता नरैनापुर गाउँपालिकामा निर्माणाधीन अस्पतालको निरीक्षणका लागि पुगेका लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए । मन्त्री खनालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका तयार भैसकेको जानकारी दिंदै उनले प्रसुती सेवामा सबै आमाको पहुँच सरकारले सुनिश्चित गरेको बताएका थिए । नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसंख्या रहेको जानकारी दिंदै चालु आर्थिक वर्षमा ६ सय ६६ जना सुत्केरी र एक हजार २ सय १५ जना गर्भवती रहेको बताएका छन् ।

Exit mobile version