‘टुर डे ठाकुरद्वारा’ तयारीमा तिब्रता

नेपालगन्ज साइकल उत्सव ‘टुर डे ठाकुरद्वारा’ को तयारीलाई तिब्रता दिंदै आयोजक स्रोत जुटाउन कस्सिएको छ । ‘यसलाई नेपालगन्जको सबैभन्दा आकर्षक कार्यक्रमका रूपमा विकास गर्न हामी लागिपरेका छौं,’ आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटा भन्छन् ।
कार्यक्रमका इभेन्ट डाइरेक्टर सतिश निरौलाले बाँके र बर्दियालाई जोडेर साइकल पर्यटन प्रवद्र्धन गर्ने गरि २०७५ सालबाट आयोजना गरिंदै आएको साइकलेहरूको उत्सव, ‘टुर डे ठाकुरद्वारा’को यो संस्करण विशेष गर्नेगरि स्रोत जुटाउन दौडधुप भइरहेको बताए ।
‘२५ लाख खर्च अनुमान छ, स्रोतको सुनिश्चितता एक रुपिया पनि गरिसकिएको छैन,’ इभेन्ट डाइरेक्टर निरौलाले दैनिक मंगलवारमात्रै लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा केसी (नमूना)लाई सहयोगको प्रस्ताव दिइएको जानकारी दिंदै भने, ‘हामीलाई विश्वास छ प्रदेश सरकार र स्थानीय तहबाट यस इभेन्टमा सहयोग प्राप्त हुनेछ ।’
‘यो नेपालकै एकमात्र निरन्तर रूपमा छैटौं संस्करणको रूपमा आयोजना हुन लागेको पर्यटकीय उत्सव भएकाले लुम्बिनी प्रदेशमै साइकल मार्फत पर्यटन प्रवद्र्धन गरिने अवसर हो,’ क्लबका निवर्तमान अध्यक्षसमेत रहेका निरौलाले भने, ‘हामीलाई विश्वास छ, यसको अभिभावकत्व लुम्बिनी प्रदेश सरकारले गर्नेछ ।’ उनले त्यसका मन्त्री नमुनाले प्रतिबद्धता पनि व्यक्त गरेको बताए । ‘मुख्यमन्त्री समक्ष त्यो प्रस्ताव लिएर जाने आयोजकको प्रस्तावलाई मन्त्रीज्यूले सहयोगको वचन दिनुभयो,’ निरौलाले भने ।
इभेन्ट डाइरेक्टर निरौलाका अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गत माघ २५ गते नेपालगन्ज किड्स रेस गरिनेछ । जहाँ १० बर्ष मुनिका बालबालिकाका लागी साइकल दौड आयोजना गरिदैछ । माघ २६ र २७ गते टुर डे ठाकुरद्वारा हुनेछ ।
‘त्यसअघि नेपालगन्ज आउने पाहुनालाई स्वादको शहरका रूपमा नेपालगन्ज चिनाउन बिरयानी, सेकुवा, राबडी, हलुवा–पराठा, फायर पान, घमन्जा, पानी पुरी, चाट आदिको स्वाद चखाइदैछ,’ निरौलाले साइकल उत्सवभित्रको ‘फुड ट्राभल’ बारे जानकारी दिदै भने ।
त्यसबीच नेपालगन्ज आसपास रहेको बाँके निकुञ्ज, गाभर भ्याली, राप्ती पुल, लायन्स पार्क, पम्प ट्रयाक, धार्मिक स्थलहरू आदिको भ्रमणका साथै नेपालगन्जमा टाँगा सफारीको समेत ब्यबस्था मिलाइने आयोजकले जनाएको छ ।
उत्सवकै क्रममा रक्तदान कार्यक्रम, कन्जरभेसन टक, बिश्व साइकल यात्री पुष्कर शाह सङ्ग बिद्यार्थी भेटघाट लगायतका कार्यक्रम आयोजनाको तयारीका लागि क्लबका बरिष्ठ उपाध्यक्ष तथा संघ सस्था समन्वय समितिको संयोजक सुरेन्द्रद्वीप कार्की जुटेका छन् । ‘यो हप्ता भित्र सबै सरोकारवालाहरू सङ्गको बैठक गरि कार्यक्रमलाई आम बाँके – बर्दियाबासीको चासो बढाउँदै सहभागिताका लागि अपील गरिनेछ,’ कार्कीले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गत आयोजना गरिन लागेको टुर डे ठाकुरद्वारालाई ब्यबस्थित रूपमा आयोजना गर्न बिभिन्न उपसमिति सक्रिय रहेको क्लब अध्यक्ष प्रदीप सापकोटाको भनाइ छ । ‘ढुक्क हुनुस्, स्रोत जुटाएरै टुर डे ठाकुरद्वारालाई विशेष बनाउनेछौं,’ अध्यक्ष सापकोटाले भने । आयोजनाका लागि बाँके–बर्दियाका पर्यटन व्यवसायीले हातेमालो गर्ने विश्वास आयोजकको छ ।

Exit mobile version