उद्यमी महिला बस्नेतको शोकमा श्रद्धान्जली सभा

उद्यमी महिला नेतृ कुसुम बस्नेतप्रति बाँकेका मुद्रण व्यवसायीले उच्च सम्मान जनाउँदै शोकमा मंगलवार जिल्लाका प्रेस बन्द गरि श्रद्धाञ्जली सभा गरिएको छ । शुक्रबार राति दाङ भालुबाङस्थित राप्ती नदी पुलमा भएको बस दुर्घटनामा परि उद्यमी बस्नेतको मृत्यु भएको थियो ।
बस्नेतको निधनप्रति शोक जनाउँदै मुद्रण व्यवसायी संघ बाँकेको आह्वानमा मंगलबार जिल्लाका मुद्रण व्यवसाय बन्द गरि श्रद्धान्जली सभा गरिएको अध्यक्ष विनोद पौडेलले जानकारी दिए ।
नेपाल मुद्रण व्यवसायी संघ बाँकेकी निवर्तमान अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्य बस्नेतले नेपालगन्जमा लामो समयदेखि छापाखाना लगायत व्यवसाय सञ्चालन गर्दै आएकी थिइन् । सफल उद्यमी बस्नेतको निधनले ठूलो क्षति पुगेको नेपालगन्जका उद्योगी, व्यवसायीले शोक व्यक्त गर्ने क्रममा बताए ।
प्रेस व्यवसाय बन्द गरेर स्व.बस्नेतकै स्वामित्वको नेपालगन्जस्थित अम्बेश्वरी छापाखानामा भेला भएका व्यवसायीहरूले शोक सभा समेत गरेका हुन् । शोक सभामा उनीप्रति मौनधारण गरी उनले गरेका योगदानका बारेमा चर्चा समेत गरिएको अध्यक्ष पौडेलले बताए । ‘बाँके जिल्लाको मुद्रण क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै अफसेट प्रविधि भित्र्याउने बस्नेत हुन्,’ पौडेलले भने ।
नेपाल मुद्रण संघ बाँकेकी संस्थापक सदस्य समेत रहेकी बस्नेतको निधनप्रति शोक जनाउँदै मुद्रण व्यवसायी महासंघका केन्द्रीय सहसचिव मिना ढकाल, प्रदेश उपाध्यक्ष पूर्णलाल चुके लगायतले बस्नेतले आफ्नो जीवनकालमा खुलेको भूमिकाको चर्चा गरेका थिए ।
महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष मेघराज ओलीले महिलाहरूलाई उद्यम, व्यवसाय क्षेत्रमा लाग्न प्रेरित गर्ने गरेको बताएका थिए ।
मुद्रण व्यवसायीसँगै महिला उद्यमी संघ नेपाल बाँकेका पूर्व अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघको पूर्व कार्यसमिति सदस्य ६० वर्षीया बस्नेत शुक्रबार काठमाडौं जाने क्रममा दुर्घटनामा परेकी हुन् ।
नेपालगन्जदेखि काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ यात्रुबहाक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर शुक्रबार राती दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो ।

Exit mobile version