नेपालगन्जको गर्मी जति आकासिंंदै थियो, मनोज जोशीसहित पाँच जना डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्रको ट्रेकिङमा थियो । फोक्सुन्डो ताललाई फन्को मार्दै छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे पानीको आनन्दित दृष्यमा लोभिइरहँदा मनोजको टोली आफ्नै देशमा भेटिएको स्वर्ग आल्हादित थियो ।
फोक्सुन्डो बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिने ताल हो भन्ने कतिलाई थाह नहुन सक्छ । तर, सधैं यात्रामा रमाउने मनोज भने, ‘बाकिफ’ थिए । ‘३० मिनेटको हवाइ दुरीमा फोक्सुन्डोको चिसो हावाको स्पर्श हुन्छ,’ यसै साताको यात्रा स्मरणमा प्रफुल्ल मनोजले दैनिक नेपालगन्जसँग भने, ‘त्यही मनोरम सम्झनाले नेपालगन्जमै पनि गर्मी बिर्साउँछ ।’
काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुन्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल ३ हजार ६०० मिटरको उचाईममा अवस्थित भएपनि मनोजको टोली फोक्सुन्डोको शीरमै पुग्ने मूडमा थियो । ४.९५ वर्ग किमी क्षेत्रफलको फोक्सुन्डोलाई ३ हजार ९०० मिटरको उचाईंबाट नियालेपछिको अनुभव सुनाउदै मनोज भन्छन्, ‘अधिकांश भिजिटर्स फोक्सुन्डोको अंशमात्रै हेरेर फर्किन्छन् ।’
अधिकतम लम्बाइ ५.९३ किमि र अधिकतम चौंडाइ १.८० किमिको फोक्सुन्डो १४५ मिटर गहिरो ताल हो । २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचीकृत फोक्सुन्डो तालको पानी आकाश निलो हुँदा उस्तै देखिन्छ, बादल मडारिँदा कालै देखिन्छ । ‘सूर्यास्तका बेला रंगीन रूप हेर्नुको मज्जानै बेग्लै’, आकाशको रंगअनुसार तालले आफ्नो रूप बदलिरहने विशेषता नियाल्ने यात्रु जोकसैको पनि फोक्सुन्डोले मन जित्छ भन्ने कुराको प्रतिक्रिया बुझ्न गा¥हो छैन मनोजको उत्साहबाट ।
साता दिनमा नेपालगन्ज फर्किएको मनोजको फोक्सुन्डो भ्रमण टोलीले स्वर्गीय सयरको आनन्दमात्रै लिएन, ‘झण्डै स्वर्ग पुगिन्छ पनि !’, साहसिक यात्राको अनुभूति बटुलेका उनी भन्छन्, ‘१२ घण्टाको चुनौतीपूर्ण गाडी यात्रापछि दूनैदेखि चेप्कासम्मको ९ घण्टा ट्रेकिङ साँच्चिकै साहसिक लाग्छ, अलिकति चूक्योकी ज्यान जोगाउने चान्स बिरलै रहन्छ ।’
अघिल्लो दिनको उस्तै साहसिक यात्रामा जब चेप्कादेखि ८ घण्टाको पैदल दुरी पार गरिन्छ यात्राका सबै कष्ट स्वतः हराएको अनुभूति मनोज अनि उनको टीमले गर्छ । ‘आँखा नझिम्क्याई ती मनोरम दृष्य हेरिरहँदा जति हेरे पनि आँखा थाक्दैनन्,’ मनोजले त्यसो भनिरहँदा नजिकै रहेका बिष्णु कंडेल फोक्सुन्डो यात्राका लागि सुन्दै लोभिइरहेको बताउँथे । ‘आँखाभरि फोक्सुन्डोे तालको रंगीन पानी मनभरि वरिपरिको दृष्य सजाइरहन मन लाग्नेरैछ,’ ताललाई छोडेर फर्कन मनै नलागेको सम्झँदै मनोजले भने, ‘करिब २० हजार रुपियामा विश्वको कुनै भव्य पर्यटकीय देश एकसातामै फर्किएको अनभूति संगाल्न सकिन्छ ।’
हुन त वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । नेपालगन्जबाट फोक्सुन्डो पुग्न कुनै लामो योजना पनि बनाइराख्नु पर्दैन, न त स्वर्गकी अप्सरा रारा पुग्दाको जस्तो रात विताउनको सास्तीनै भोग्नुपर्छ । गज्जबका होटल, रेष्टुरेन्ट अनि स्वाद अनुसारका परिकार पाउने उनले बताए ।
फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन औल्याउँदै मनोज भन्छन्, ‘घुम्नुपर्छ, त्यसमा पनि आफ्नै देश नघुमेर होला ?’ ताल किनारामा रिग्म गाउँ, गुम्बा, चैत्यको दृष्यावलोकन गर्दै तालको भ्यू पोइन्ट पुगेका मनोजले फोक्सुण्डोको बेग्लै स्वरूप देखेको सबै दृष्य क्यामेरामा कैद पनि गरेका छन् ।
‘मज्जाको डकुमेन्ट्री बनाउने हो, फोक्सुन्डो कस्तो अद्भूत रहेछ भन्ने जोकसैले पनि अनुभूत गर्न सकोस् र यात्राका लागि प्रेरित बनोस्,’ मनोज जोशी आफ्नो निष्कर्ष सुनाउँछन् ।