वीरेन्द्र जैसी
दैनिक नेपालगन्ज २०८० माघ ११ गतेको अंकमा नेपालगन्ज–जमुनाह नाकामा देखिएका अव्यवस्थाहरुबारे फेहरिस्त समेटेर भिडियोसहित रिपोर्ट प्रकाशित ग¥यो । त्यसको ठिक चार महिनापछि नाकामा भएको सुधारबारे जानकारी लिन पुग्दा धेरैजसो समस्या उस्तै रहेका पाइएका छन् ।
त्यतिबेला भन्सार कार्यालय साँघुरो संरचनामा रहेकोमा अहिले आइसीपीमा सन्चालित छ । यसले नाकामा देखिने भिडभाड र ट्रकहरुको लाइन भने केही कम भएको छ । तर, अरु समस्याहरु समाधान भएको देखिएन । त्यतिबेला प्रशासकहरुले भन्सार आइसीपीमा सरेपछि धेरै समस्याहरु समाधान हुने तर्क गर्थे । त्यसो भएको पाइएन । यसले पनि के देखाउँछ भने जमुनाह नाका प्रशासनले व्यवस्थापन गर्न नजान्दा नै अव्यवस्थित भएको हो । अरु कारणहरु तपसिलका हुन् ।
नेपाल प्रवेश गर्ने गेटसँगै रहेको पर्यटन सूचना केन्द्र अहिलेपनि कामविहीन नै छ । माघ महिनामा पुग्दा कार्यालयमा एकजना मात्रै कर्मचारी थिए । अहिलेपनि एकजना कर्मचारीमात्रै छन् । हामी पुगेका बेला कार्यालयको सरसफाई र मर्मत गरिँदै थियो । तर, कार्यालयले गर्ने कामको अवस्था उस्तै लथालिंग ।
केन्द्रमा खटिएकी पर्यटन सुचना अधिकृत कान्ता भण्डारीले अहिलेसम्म कति पर्यटकहरुले यस सूचना केन्द्रबाट सेवा लिए भन्ने तथ्यांक पनि अद्यावधिक नरहको बताइन् । उनले अध्यागमन कार्यालय नेपालगन्जले काम पाएमा आफूहरुले पनि काम पाउने बताइन् ।
भण्डारीले भनझैँ जमुनाहमा रहेको तेस्रो मुलुकका पर्यटकहरुलाई अनअराइभल भिसा दिने भनेर खोलिएको अध्यागमन कार्यालय कामविहीन छ । पहिले कुनै पनि काम नहुने कार्यालयमा अहिले पर्यटक भिसाको नवीकरण चाहीँ गरिने रहेछ । तर, त्यो सेवा पर्याप्त होइन ।
रुपैडिहामा रहेको भारतीय अध्यागमनले काम नगर्दा आफूहरुले काम गर्न नपाएको कार्यालयकी प्रमुख दुर्गा वलीले बताइन् । उनले अध्यागमनको सेवा खुलाउन भारतसँग दुईदेशीय संयन्त्रमार्फत नै कुरा गर्नुपर्ने भएकोले अध्यागमन विभागमा पटक पटक जानकारी गराइसकेको बताइन् । तर, अहिलेसम्म न यो कार्यालयले काम पाएको छैन ।
अहिले तेस्रो मुलुकका पर्यटकहरुले यहाँबाट काम नहुने भएकोले आफ्नो यात्राको सुचीमै नेपालगन्ज नराख्ने गरेको सुचना आफूले पाएको वली बताउँछिन् । यो कार्यालय आइसीपी नेपालगन्जमा सर्नुपर्नेमा अझै सरेको पनि छैन ।
जमुनाह–नेपालगन्ज नाका भारतीय र भारत रुपैडिहा हुँदै आउने अन्य मुलुकका पर्यटकहरुको एक मुख्य प्रवेशद्धार हो । तर सूचना केन्द्र र अध्यागमनकै यो हालतले सरकार पर्यटनको प्रवद्र्धनप्रति कति गम्भीर छ अनुमान गर्न सकिन्छ ।
माघ महिनामा हामीले रिपोर्ट तयार गर्दा एकीकृत भन्सार जाँच चौकी बनेको थिएन । अहिले बनिसकेको छ । त्यही भएर मालबाहक र ठूला गाडीहरुका चाप यहाँ घटिसकेको छ । नाकामा रहेको भन्सारको यात्रु शाखाको लापरवाही अहिलेपनि उस्तै छ । १०० रुपैयाँभन्दा बढीको सामानको भन्सार लाग्ने भनिएपनि यहाँ अनुहार हेरेर भन्सार तिर्न लगाइन्छ ।
त्यहाँबाट छोडिएका सामानहरु अब अगाडी प्रहरीले जहाँ पनि समात्न सक्छ र अवैद्य भनेर जफत गरिदिन सक्छ । एक हिसाबले भन्सारका कर्मचारीहरु र सुरक्षाकर्मी मिलेर सर्वसाधारणलाई धरापमा पार्छन् । बाटोमा समातेर भन्सार छलीको सामान भन्दै मुद्धा चलाउँछन् । यसैकारण अवैद्य असुलीको वातावरण यहाँ फस्टाएको छ ।
नाकाको गेट पार गर्नेबित्तिकै भारतबाट आउने गाडीहरुलाई पहिलोपल्ट सुरक्षाकर्मीले चेकजाँच गर्छन् । तर त्यहाँको चेकजाँचले मात्रै पुग्दैन । भारतीय नम्बर प्लेटका गाडीहरुलाई अहिलेपनि दुई किलोमिटरमा तीन ठाउँमा चेकजाँच गर्ने अवस्था सुधारिएको छैन ।
रुपैडिहामा चिकित्सक रहेका एक भारतीय नागरिकले आफ्नो अनुभव सुनाउँदै दैनिक नेपालगन्जसँग भने, ‘कहिलेकाहीँ सुर्खेतसम्म जाऔँ जस्तो लाग्छ । ठाउँ ठाउँमा चेकजाँच हुन्छ । तर, यो झण्झट हेरेर जानै मन लाग्दैन ।’ उनले थपे, ‘कागजपत्रहरु एकैठाउँमा सबै बनाउने व्यवस्था भए सजिलो हुन्थ्यो । भन्सार एक ठाउँमा, यातायातको अर्कै ठाउँमा रहेछ । यसले नयाँ आएका मान्छे झुक्किन्छन् नि । ’
नाकामा अहिले इ रिक्साको व्यवस्थापन झन् बिग्रेको पाइयो । सबै इ रिक्साहरु चेकजाँच हुने ठाउँसम्मै पुगेर भिड लाग्ने गरेको छ । आधा बाटो इ रिक्साले नै ढाकेको हुन्छ ।
अनि यहाँ रहेको भन्सार कार्यालय साना गाडीहरुको भन्सारका लागि मात्रै यहाँ राखिएको छ । बाँकी कार्यालय आइसीपीमा सारिएको छ । त्यसले गर्दा पहिले बाटोमा हुने ट्रकहरुको पार्किंगको समस्या भने हटेको छ ।
नाकालाई आकर्षक र सहज बनाएर नेपाल प्रवेश गर्दा भारतीय तथा तेस्रो मुलुकका नागरिकलाई स्वागतको अनुभूत हुनेगरि गरिनेपर्ने व्यवस्थापनमा सम्बद्धहरु गम्भीर हुनुपर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।