१. राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।
२. सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले शनिबार प्रदर्शन गरेका छन् । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन् ।
३. गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।
४. नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।
५. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
६. नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताउनुभयो ।
७. नेकपा (एकीकृत समाजवादी) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
८. निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ ।