वीरेन्द्र जैसी
भेरी अस्पतालको नयाँ भव्य भवन तयार भइसकेको छ । उक्त भवनमा इमरजेन्सी सेवा सन्चालन गरेकै एक वर्षभन्दा बढी भइसक्यो । तर, करिब तीन बेडमा बिरामीलाई सेवा दिन सकिने भवन अझै पूर्ण प्रयोगमा ल्याइएको छैन । अस्पतालमा बिरामीहरुले बेड नपाउने समस्या छ । आकस्मिक बाहेकका अपरेशन गर्नुपर्ने बिरामीले एक वर्षभन्दा बढी कुर्नपर्छ । पुरानो भवनमा रहेका साँघुरा वार्डमा बिरामीहरुलाई राखिन्छ । बिरामीको चापले ओपिडीकोे ग्यालरीमा खुट्टा राख्ने ठाउँ हुन्न ।
तर, कहिलेदेखि नयाँ भवनमा बिरामीहरुले सेवा लिन पाउँछन् ठेगान छैन । उक्त भवनमा तीन वटा शल्यक्रिया कक्ष, क्याथल्याब, डायलाइसिस, आइसियू, सिसियू, पोस्टअपरेटिभ वार्डलगायत कक्षहरु राखिने योजना छ । यी सबै सेवाहरु यहाँ कहिले सर्छन् र नयाँ भवन बनेको लाभ नागरिकहरुले कहिले लिन पाउछन् भन्ने अझै अनिश्चित छ । किनकी यो भवनमा उपचार सेवा सुरु गर्न अस्पतालसँग न आवश्यक उपकरणहरु छन् । न आवश्यक जनशक्ति । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह र अस्पतालका मेसु डा. पवनजंग रायमाझी भने भवन अझै अस्पताललाई हस्तान्तरण नभएकोले उक्त भवनलाई पूर्ण प्रयोग गर्न नसकिएको तर्क गर्छन् ।
२०७४ सालबाट निर्माण सुरु भएको यो भवन २०७८ सालमा निर्माण सक्नुपर्नेमा २०८० को मध्यतिर निर्माण सम्पन्न भयो । तर, अझै यो भवन आधिकारिकरुपले अस्पताललाई हस्तान्तरण गरिएको छैन । सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका प्रमुख रामकृष्ण आचार्य भवन हस्तान्तरण नभएपनि अस्पताललाई सेवा उक्त भवनबाट सन्चालन गर्न कुनै रोकतोक नरहेको बताउँछन् । उनले भने, त्यहाँ अस्पतालले केही वार्डहरु सन्चालन गरिसकेको छ । प्रशासन उक्त भवनमा सारिसकेको छ । त्यसो भएर हस्तान्तण नै नभएर भवनमा सेवा सन्चालन गर्न हामीले रोकेका छैनौँ । हस्तान्तरण नै गर्नुपर्छ भनेपनि हामी तयार छौँ ।
हुनपनि उक्त भवनमा अस्पतालले अहिले इमरजेन्सी सेवा सन्चालन गरिरहेको छ । अस्पताल प्रशासन पनि यही भवनमा सरिसकेको छ । अर्थाे वार्ड र मेडिसिन वार्ड पनि यस भवनमा सारिसकिएको छ । अस्पताल प्रशासन सार्न मिल्ने, कर्मचारीहरु चाहीँ यो भवनमा बसेर काम गर्न मिल्ने तर नागरिकहरुलाई स्वास्थ्य सेवा दिन हस्तान्तरण नै नहुनु मुख्य कारण होइन । मुख्य कारण उक्त भवनबाट सेवा दिनका लागि न अस्पतालले आवश्यक उपकरणको व्यवस्था गरेको छ, न अस्पतालसँग आवश्यक जनशक्ति छ । किनकी अहिले बनेको संरचना भवन मात्रै हो । त्यसभित्र उपकरण र अस्पतालका लागि चाहिने व्यवस्थापन गर्न बाँकी नै छ । सबै वार्डहरु व्यवस्थान गरी सन्चालनमा ल्याउन मात्रै करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अस्पतालका मेसु डा. पवनजंग रायमाझीले भने, भौतिक संरचना भएर मात्रै अस्पतालको सेवा दिन सकिँदैन । औजार उपकरण चाहिन्छन् । जनशक्ति चाहिन्छन् ।
रायमाझीले औजार उपकरणका लागि टेण्डर आह्वान भइसकेको बताए । तर जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्ने अहिले पनि अन्यौल नै रहेको छ । यद्धपि सरकारले भेरी अस्पताललाई पाँच सय बेडमा स्तरोन्नती गर्ने व्यवस्था बजेटमै गरेकोले समस्या समाधधान हुने आशा गर्नुपर्ने रायमाझीको तर्क छ । हाल करिब साढे चास सय कर्मचारी रहेकोमा अस्पताल पाँच सय बेडमा सन्चालन गर्र्नका लागि एक हजार तीन सय बढी कर्मचारी आवश्यक हुने उनले बताए ।
अर्काेतिर, यो भवनको निर्माण नै स्वास्थ्य सेवामैत्री तरिकाले गरिएको छैन । उक्त भवनमा र्याम्प छैन । सिंढी र लिफ्टको मात्रै छ । वार्डहरु पनि अस्पतालको आवश्यकता बमोजिम नबनेका डा. रायमाझी बताउँछन् ।