१. सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ सकिएन । अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
२. लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।
३. नेकपा (एमाले) ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
४. सरकारले ८ वर्षपछि नुनको भाउ बढाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार, यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पु¥याइएको छ ।
५. पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
६. सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् ।
७. राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन् ।
८. राष्ट्रियसभाका सांसदहरूले बर्सेनि प्राकृतिक विपत्तिबाट ठुलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै पूर्वतयारी गरी क्षति न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको मंगलबारको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपत्तिबाट प्रभावितको तत्काल उद्दार गरी राहतको प्रबन्ध गर्न माग गरे ।