पत्रकारिताको नियामक निकाय, प्रेस काउन्सिल नेपालले सञ्चारसंस्थाले सञ्चालन गरिरहेका युट्यूबसहितका सामाजिक सञ्जाललाई निगरानी गरिरहेको जनाएको छ । काउन्सिलका अनुसार, मर्यादित पत्रकारिताका लागि नियमन र निगरानी आवश्यक भएको हो ।
त्यसक्रमबारे अनुशिक्षण गर्न प्रेस काउन्सिल नेपालले बुधबार नेपालगन्जमा ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमले सामाजिक सञ्जालको सचेत प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
‘पत्रकारिता विशिष्ट पेशा हो, यसमा प्रश्न उठ्न दिनुहुँदैन,’ अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा प्रकाशित हुने समाचार सामाग्री काउन्सिलले नियमन र निगरानी गरिरहेको जानकारी दिंदै भने, ‘यसका लागि प्रत्येक सञ्चारसंस्था जिम्मेवार हुनुपर्छ ।’
अध्यक्ष बस्नेतले समयसापेक्ष सञ्चारमाध्यमले अब फरक ढंगले पत्रकारिता अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे । ‘अब आलोचना गर्ने मात्रै होइन, रचनात्मक सुझाव र समाधानको पाटो पनि समाचारका विषय बन्नुपर्छ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसका लागि थप मेहनत गर्न सञ्चारमाध्यम तत्पर हुन आवश्यक छ ।’
‘कारोबारको अनुमति नभएका फेसबुक पेज, युट्युबमा विज्ञापन गरी लाखौं रुपैयाँको सरकारी विज्ञापनको भुक्तानी भएको पाइएको छ’, अध्यक्ष बस्नेतले कानुनी विपरित हुने त्यसखालका कार्यका विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए ।
प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले सञ्चारमाध्यमले आफ्नो समीक्षा आफै गर्नुपर्ने धारणा राखे । उनले काउन्सिलमा पर्ने बढी उजुरी अनलाइनमा प्रकाशित समाचारको बारेमा रहने गरेकाले गल्ती सच्याउने तत्परता आवश्यक रहेको औंल्याए । ‘प्रश्न उठे अनलाइनबाट समाचार नै डिलिट गरेर पन्छिने कार्य उपयुक्त होइन’, उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले युट्युब सहितका सामाजिक सञ्जाल सशक्त माध्यम भएकाले त्यसको सदुपयोग आवश्यक रहेको औंल्याउँदै नियमनमा जोड दिए । उपाध्यक्ष चौलागाईले सञ्चारमाध्यमको रुपमा सामाजिक सञ्जाल प्रयोग भैरहेको अवस्थामा नियमनको व्यवस्था मिलाउन आवश्यक रहेको धारणा राखे ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा पूर्व क्षेत्रीय संयोजक झलक गैरेले सञ्चारमाध्यमका चुनौति र समाधानका लागि आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा प्रस्तुतिकरण राखेका थिए । उनले प्रिन्ट मिडियाका खस्कंदै जाँदा प्रिन्ट मिडियाले सञ्चालन गरेका सञ्चारमाध्यमलाई काउन्सिलले सपोर्ट गर्नुपर्ने धारणा राखे ।
‘प्रिन्ट मिडियाले पछिल्लो समय विभिन्न खालका चुनौति झेल्दै गर्दा खस्कदै गएका छन्’, महासंघका पूर्व अध्यक्ष गैरेले भने, ‘त्यसैले अनलाइनको विश्वसनीय हेरेर प्रिन्ट मिडियालाई जस्तै सपोर्ट अनलाइन मिडियालाई पनि गर्न आवश्यक रहेको छ ।’
कार्यक्रममा सहभागीहरुले लोककल्याणकारी विज्ञापनको लाभ लिनकै लागि निस्कने पत्रिकाहरुको वर्गीकरण खारेज गर्नुपर्ने धारणा राखेका थिए । ‘काउन्सिलमा फाइल बुझाउनका लागिमात्रै निकालिने पत्रिकालाई वर्गीकरण खारेज गरिदिनुस्, त्यसको अनुगमन गरिदिनुस्,’ पत्रकारहरुले भने ।
नेपाल पत्रकार महासंघ बाँकेको संयोजनमा गरिएको कार्यक्रमको सञ्चालन शाखा सचिव कमल डाँगीले गरेका थिए । जिल्लाका झण्डै एकसय युवा सञ्चारकर्मीको सहभागितामा गरिएको कार्यक्रममा आचारसंहिताबारे चर्चा गरिएको थियो ।