सन्ध्या गैरे
प्रविधिको विकास क्रमबारे नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको संगोष्ठी आयोजना गरिएको छ ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयले भारतको बरेली स्थित राजश्री इन्ष्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीसँगको सहकार्यमा शनिबार नेपालगन्जमा प्रविधिको विकास क्रमबारे बृहत बहसको आयोजना गरेको हो । जहाँ चीनदेखि क्यानडासम्मका सूचना प्रविधिका विशेषज्ञहरूले आफ्ना प्रस्तुतिहरू गरेका थिए ।
विभिन्न सत्रमा विभाजन गरिएको अन्तर्राष्ट्रिय स्तरको गोष्ठीमा भौतिक तथा भर्चुअल गरी झण्डै दर्जन विशेषज्ञ प्रस्तुतिहरू गरिएका थिए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयका भिसी प्रोफेसर डा. विनोद प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रजिष्टार रेग बहादुर भण्डारीले संस्थागत रूपमा आफुहरूले गरेको अभ्यास र अन्तर्राष्ट्रिय संगोष्ठीसँगको अपेक्षाबारे गरेको अवधारणासँगै प्रस्तुतिहरू गरिएका हुन् । जहाँ राजश्रीका हेड अफ डिपाटमेन्ट डा. रविश अग्रवालले लुम्बिनी प्राविधिक विश्वविद्यालयसँग प्रविधिका शैक्षिक विषयमा सहकार्य गरेर जान सकिने सम्भावनाहरू र आफ्नो संस्थागतबाट भैरहेको अभ्यासबारे प्रस्तुति राखेका थिए ।
कार्यक्रममा नेशनल फरन्सेकिस साइन्स यूनिभिर्सिटिका डा. इन्द्रजित सिंह, राजश्रीका एशोसिएट प्रोफेशर डा. नीतिन विष्ट, इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका एशोसिएट प्रोफेसर डा. तारा प्रसाद बन्जाडे, त्रिभुवन युनिभर्सिटीका एशोसिएट प्रोफेसर तेज शाही, काठमाडौं युनिभर्सिटीको प्रोफेसर डेनी शाही, लुम्बिनी प्राविधिक विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर हरपित सिंह लगायतका दर्जन बढी विषयविज्ञहरूले आफ्ना प्रस्तुतिहरू भौतिक तथा भर्चुअल माध्यमबाट राखेका थिए । विभिन्न सत्रमा गरिएका बहसमूलक प्रस्तुतिहरूमा त्रिभुवन युनिभर्सिटीका प्रा.डा. सुवर्ण शाक्य, डिन डा. मनिष पोखरेल लगायतले सत्रको अध्यक्षता गरेका थिए भने कार्यक्रमको संयोजन सुर्य बस्नेतले गरे ।