१. सरकारले स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा दुई वर्ष सरुवा नगर्न प्रस्ताव गरेको छ ।
२. नेपाल बार एशोसिएशनले न्यायाधीशहरुको वरियता फेरबदल गर्ने गरी न्यायपरिषद नियमावली २०७४ मा गरिएको संशोधन खारेज गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग माग गरेको छ ।
३. उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरेका छन् ।
४. त्रिभुवन विश्वविद्यालयले सोमबार हुन लागेको त्रिवि सभा बैठक स्थगित गरेको छ । सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख भीमबहादुर श्रेष्ठले सूचना जारी गर्दै राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको बताएका छन् ।
५. गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
६. प्रतिनिधिसभाको सोमबार दिउँसो १ बजेका लागि निर्धारित बैठक सोही दिन अपराह्न ४ बजेका लागि सरेको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले बस्न नसक्ने भएकाले अपराह्न ४ बजे बस्नेगरी निर्धारण गरिएको सङ्घीय संसद् सचिवालयले आइतबार सूचनामार्फत जानकारी गराएको छ ।
७. धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ । भारतको पलियास्थित वङ्शीनगरमा बाटो अवरुद्ध भई आयात रोकिएपछि धनगढीमा हिजोआज तरकारीको मूल्य निकै बढेको स्थानीय तरकारी व्यवसायी चन्दु चौधरीले जानकारी दिए ।
८. कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।