नेपालगन्जमा विपद् व्यवस्थापन तथा पूर्व तयारीको कार्यमा सञ्चालित परियोजना सकिएपनि स्थानीय सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिइएको छ ।
परियोजनाले समुदायमा सकारात्मक प्रभाव पारेकाले त्यसको निरन्तरतामा स्थानीय सरकारको लगानी र चासोमा सुझाव दिइएको हो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र युएन ओमेनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समीक्षा बैठक भएको छ ।
आइतवार गरिएको समीक्षा बैठकमा सहभागीहरुले विपद्को क्षेत्रमा परियोजनाले उल्लेख्य काम गरेको भन्दै त्यसलाई वडादेखि उप–महानगरपालिकासम्मले स्वामित्व लिएर निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोबद्र्धन सिंह सम्झना, नेपालगन्ज उप–महानगरपालिका विपद् समितिका संयोजक समिरप्रताप सिंह, वडा नं. ३ का वडाध्यक्ष मो. अयुब सिद्दीकी लगायतको एउटै धारणा थियो सुपरले जगाएको संवेदनशीलतालाई परियोजना ‘फेजआउट’ भएपनि निरन्तरता दिइनु आवश्यक रहेको बताए । ‘त्यसका लागि स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्थायी र प्रतिबद्ध कर्मचारी नियुक्त गरिनुपर्छ,’ सभापति सम्झनाले भने ।
सुपरको कार्यावधि सकिंदै गर्दाै गरिएको समीक्षा बैठकमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले परियोजनाको उपलब्धिसहितको कार्य प्रगतिको बारेमा विस्तृत प्रस्तुतिकरण गरे । उनले उप–महानगरपालिकाले सुपरको उपलब्धीलाई संरक्षण गर्दै अगाडी बढाउन सुझाव दिए ।
सुपरको सहयोगमा विपद्विरुद्ध सचेतना अभियान, स्थानीय तथा विभिन्न सरोकारवालाको क्षमता अभिबृद्धि र उपमहानगरपालिकामा नीति, योजना निर्माणको कार्यमा प्राविधिक सहयोगका विभिन्न कार्यक्रमहरु गरिएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार, परियोजनाले आवासीय बीमा कार्यक्रम, व्यवसाय निरन्तरता योजना, फायर वाइक सेवा प्रारम्भ तथा दमकल सेवा चुस्त र प्रभावकारी, निजी क्षेत्रको सहभागिता तथा साझेदारी, वडास्तरमा विपद् पूर्व तयारीमा लगानी, अन्तरपालिकासंगको समन्वय र साझेदारी बढाएको छ ।
सुपरले नेपालगन्जमा सामुदायिक आपतकालीन प्रति कार्य टोली निर्माण गरी ४०० जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्वन्धि तालिम दिई समुदायमा कृत्रिम घटना अभ्यासमा संलग्न गराएको बताइएको छ । घरायसी आगलागी नियन्त्रणबारे सचेतनामूलक प्रदर्शनीमार्फत जानकारी पनि गराइएको ज्ञवालीले समीक्षा बैठकमा जानकारी दिए ।
महेन्द्र माविमा बृहत्तर विद्यालय सुरक्षा योजना कार्यान्वयन, परम्परागत इनारको मर्मत गरी अग्नी नियन्त्रणसंग जोडिएको, साँघुरा गल्लीमा अग्नीसमक यन्त्रको स्थापना, विद्यालयको प्रवलीकरण, साँघुरा गल्लीको नक्सांकन गरी आपतकालीन मार्गको पहिचान, नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिई दक्ष बनाइएको ज्ञवालीको भनाइ छ ।
नेपालगन्जका कार्यबाहक मेयर कमरुद्दिन राईको अध्यक्षतामा भएको समीक्षा बैठकमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, वाताबरण तथा सरसफाई शाखा प्रमुख प्रकाश डिसी लगायतले परियोजनाबारे आ–आफ्नो धारणा राखेका थिए ।
सुपरले गरेको लगानीको स्वामित्व लिंदै यसले अघिसारेको अवधारणा र कार्यक्रमलाई नेपालगन्ज उप–महानगरपालिकाले निरन्तरता दिनु आवश्यक छ,’ परियोजना प्रभावित नेपालगन्ज– ३ का वडाध्यक्षले सिद्दीकीले भने ।