नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा आज साउन सक्रान्तिदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा आउने भएको छ ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कम्पनी सचिव श्याम कुमार शर्माले दिएको जानकारी अनुसार, दुई वर्षदेखि रोकिएको स्वास्थ्य बीमा आज मंगलवारदेखि पुनः सञ्चालनमा आउने भएको हो ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने घोषणा गर्दै तद्अनुरूप आफ्ना पूर्वाधार विकास गरिरहेको जनाएको छ ।
‘आम जनसाधारणका लागि सरकारले दिएको सुविधा अब कोहलपुर शिक्षण अस्पतालमा पनि उपलब्ध भएको छ,’ कम्पनिी सचिव शर्माले दैनिक नेपालगन्जसँग भने, ‘सबै स्वास्थ्य विमकले स्वास्थ्यउपचारमा सेवा लिन सक्नु हुनेछ ।’
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनपछि अस्पतालका सुधार विभिन्न कार्ययोजना अघि सारेको छ । कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजनामा काम गरिरहेको छ ।
‘यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ–नयाँ उपकरणहरू थप विशेषज्ञ सेवा दिने तर्फ कम्पनीले काम अगाडि बढाएको छ’, कम्पनी सचिव शर्माले पश्चिम नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको पहल कदमीमा नेपालगन्ज मेडिकल कलेज सुपर स्पेशियालिटी सेवामा प्रवेश गरिरहेको जानकारी दिंदै भने ।
‘बिडिएस, बिएमआइटी, बिएमएलटी, पीसीएल नर्सिङ्ग कोर्ष समेत सञ्चालन गरिनेछ’, एमबीबिएस, एमडी÷एमएस, बि एस्सी नर्सिङ्ग सञ्चालन गरिरहेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले जनाएको छ ।