बाँके : बढ्यो पूँजीगत खर्च

देबेन्द्र राज पौडेल

आर्थिक बर्ष २०८०/८१ मा बाँकेमा संघ अन्तर्गतका कार्यालयहरूले ८६.६४ प्रतिशत पूँजीगत (विकास निर्माण)को बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आ.व.को तुलनामा बढी हो । गत आ.व. २०८०/८१ मा बाँकेमा कुल चालु र पूँजीगत बजेट खर्च ९१.३८ प्रतिशत रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जिल्लामा विगतको तुलनामा पूँजीगत खर्च प्रतिशत बढेको बताए । संघीय कार्यालयहरू तर्फ आर्थिक बर्ष २०७८/०७९ मा ७५.३७ प्रतिशत, आ.व. २०७९/०८० मा ७७.१९ र आ.व. २०८०/०८१ मा ८६.६४ प्रतिशत विकास खर्च भएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पूँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४ सय २६ रूपैयाँ विनियोजन गरेको थियो । जसमध्ये पूँजीगत तर्फ ६ अर्ब १३ करोड २९ लाख १५ हजार ७ सय १६ रूपैयाँ विनियोजन भएकोमा खर्च ५ अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९ सय ६९ रूपैयाँ खर्च भएको हो । त्यस्तै चालु तर्फ १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार ७ सय १० रूपैयाँ विनियोजन भएकोमा ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६ सय २१ रूपैया खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए ।

आर्थिक बर्ष २०७८/०७९ मा बाँकेका लागि चालु तर्फ ११ अर्ब ३८ करोड ४४ लाख ५ हजार २ सय १४ र पूँजीगत तर्फ ८ अर्ब ६८ करोड २९ लाख ४ हजार ५ सय ८९ रूपैयाँ बजेट विनियोजन भएकोमा चालु तर्फ १० अर्ब ६० करोड ६८ लाख १८ हजार ३ सय ५२ र पूँजीगत तर्फ ६ अर्ब ५४ करोड ४७ लाख २ हजार १ सय ४१ रूपैयाँ खर्च भएको थियो ।
त्यस्तै, आ.व. २०७९/८० मा चालु तर्फ १२ अर्ब २० करोड २४ लाख २७ हजार ७ सय ३० रूपैयाँ विनियोजन भएकोमा ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार २ सय १९ खर्च भयो भने पूँजीगत तर्फ ८ अर्ब ४५ करोड ८६ लाख १ हजार ६ सय ४२ रूपैयाँ विनियोजन भएकोमा ६ अर्ब २१ करोड ८ लाख ७६ हजार ७ सय २८ रूपैयाँ खर्च भएको थियो ।

प्रदेशको खर्च निराशाजनक

गत आ.व. २०८०/८१ मा प्रदेश सरकारको खर्च निराशाजनक रहेको छ । प्रदेश सरकारको ३० प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । बाँकेमा प्रदेश सरकारका अन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार, आर्थिक बर्ष २०८०÷०८१ मा कुल ३ अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट बाँकेका लागि विनियोजन भएकोमा खर्च भने ६८.९६ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८८ लाख १२ हजार ५ सय ९० मात्रै भएको छ ।

प्रदेश सरकारले पूँजीगत (विकास) खर्च तर्फ २ अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकोमा ६८.८५ प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ४१ लाख ७८ हजार ४ सय १४ रूपैयाँ खर्च भएको हो । चालु तर्फ ६९.१२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट १ अर्ब ३८ करोड १० लाख ३४ हजार मध्ये ९५ लाख ४६ हजार ३४ हजार १ सय ७५ रूपैयाँ मात्रै खर्च भएको हो ।

प्रदेश सरकारले आ.व. २०८०÷०८१ भन्दा अघिल्ला दुई आ.व. भन्दा बजेट कम खर्च गरेको हो । आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश सरकारले चालु तर्फ ७५.५१ प्रतिशत, पूँजीगत तर्फ ७८.०२ प्रतिशत र कुल बजेटको ७६.९९ प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै, आ.व. २०७९/८० मा कुल बजेटको ७३.११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालु तर्फ ७१.६२ र पूँजीगत तर्फ ७४.०८ प्रतिशत बजेट खर्च गरेको थियो ।

यस्तो छ, राजश्व संकलन

बाँकेमा २०८०/०८१ मा राजश्व संकलन वृद्धि भएको छ । संघ र प्रदेशमा २०८०/०८१ को अघिल्लो आ.व.को तुलनामा राजश्व संकलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । यद्यपि, २०७८/०७९ को तुलनामा त्यसपछिका आ.व.का राजश्व संकलन कम रहेको छ ।

संघ तर्फ आर्थिक बर्ष २०८०/८१ मा बाँकेमा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रूपैयाँ राजश्व संकलन भएको छ । जुन अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १ सय ३० रहेको थियो । आर्थिक बर्ष २०७८÷०७९ मा बाँकेमा २८ अर्ब ६४ करोड ३९ लाख २५ हजार ७ सय ९२ रूपैयाँ राजश्व संकलन भएको थियो ।

प्रदेश तर्फ आर्थिक बर्ष २०८०/०८१ मा ९२ करोड ३ लाख ४६ हजार ८ सय ४४ रूपैया राजश्व संकलन भएको छ । त्यसअघिको आ.व. २०७९/०८० मा ८३ करोड ६ लाख ९२ हजार २ सय २४ र आ.व. २०७८/०७९ मा १ अर्ब १ करोड ४५ लाख ८९ हजार ५ सय ८४ रूपैयाँ राजश्व संकलन भएको थियो ।

सात कार्यालयलाई ८७ प्रतिशत विकास बजेट

बाँकेका सात संघ अन्तर्गतका कार्यालयले ८७ प्रतिशत बढी बजेट प्राप्त गर्दै आएका छन् । विकास निर्माणसँग सम्बन्धी सात कार्यालयहरूले आर्थिक बर्ष २०८०/८१ मा बाँकेका लागि प्राप्त कुल बजेटको ८७.८७ प्रतिशत हिस्सा ओगटेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिएका छन् । सात वटा कार्यालयले मात्रै ५ अर्ब ३८ करोड ९७ लाख ४७ हजार बजेट प्राप्त गरेकोमा ४ अर्ब ६९ करोड ७९ लाख ४२ हजार २ सय ७ रूपैयाँ खर्च गरेका छन् ।

विकास निर्माण सँग सम्बन्धित अधिकांस कार्यालयको खर्च उत्साहप्रद रहेको प्रमुख कोष नियन्त्रक भण्डारी बताउँछन् । ‘बहुबर्षिय योजना सञ्चालित कतिपय कार्यालयले चालु आ.व.को लागि दायित्व समेत सिर्जना गरेका छन्’, उनले भने ।

बाँकेमा हुलाकी राजमार्गले आर्थिक बर्ष २०८०/८१ मा ९९.९९ प्रतिशत बजेट खर्च गरेको छ । कार्यालयले १ अर्ब ९५ करोड ८ लाख ६५ हजार बजेट प्राप्त गरेकोमा १ अर्ब ९५ करोड ८ लाख ५० हजार ६८ रूपैयाँ खर्च गरेको छ । हुलाकी मार्फत भएको कामको पूर्ण दाबी भुक्तानी नहुँदा चालु आ.व.का लागि दायित्व समेत सिर्जना भएको छ ।

‘बहुबर्षिय योजनामा गरेको कामको भुक्तानी हुन नसक्दा दायित्व सिर्जना भएको हो’, प्रमुख कोष नियन्त्रक भण्डारी भन्छन् । हुलाकी मात्रै नभएर अन्य विकासे कार्यालयहरूबाट भएका कामको भुक्तानी नहुँदा चालु आ.व. २०८१/०८२ मा दायित्व सिर्जना भएको उनी बताउँछन् ।

त्यस्तै सिक्टा सिंचाई आयोजना, पुल योजना पश्चिम सेक्टरले पनि आर्थिक बर्ष २०८०/८१ मा ९९.९९ प्रतिशत बजेट खर्च गरेका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ९३.७४ प्रतिशत, सडक डिभिजनले ८९.२८ प्रतिशत बजेट खर्च गरेका छन् ।

क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालयले ५४.६६ प्रतिशत, संघीय आयोजना कार्यान्वयन इकाइले ३९.४४ प्रतिशत बजेट खर्च गरेका छन् ।

Exit mobile version