लुम्बिनीका ११ हजार होटलमा २ खर्ब लगानी

संघीयता, कोरोना र बैंक ब्याजका कारण बाँकेका कतिपय होटल व्यवसायीले सञ्चालित होटल नै बन्द गरे । मानिसहरूको चहलपहल घटेसँगै आरोलो लागेको होटल व्यवसाय अब पुनः बिस्तारै लयमा फर्किन थालेको छ ।

नेपाल भित्रिने पर्यटकहरूको संख्या बिस्तारै बढ्न थालेपछि त्यसलाई होटल तथा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्न थालेको छ । निजी क्षेत्रबाट समेत नियमित पहल र प्रयासले होटल व्यवसाय क्षेत्र धानिदै सम्हालिने स्थितिमा पुगिरहेको होटल व्यवसायी बताउँछन् ।

‘कोभिड पछि भन्दा अहिले होटल व्यवसाय क्षेत्रको अवस्था सुधारिन थालेको छ’, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्का भन्छन् । यद्यपि, संघीयता पछि घटेको बाँकेको होटल क्षेत्रको कारोबार अझै पूर्ववत् हुन नसकेपनि कोभिड अघिको अवस्थामा फर्किने क्रममा रहेको व्यवसायी बताउँछन् ।

लुम्बिनीमा पर्यटन व्यवसायको प्रशस्त सम्भावना रहेकाले होटल व्यवसायलाई राज्यले सहयोगी भूमिका निर्वाह गर्ने हो भने त्यसले निकै राम्रो प्रभाव पार्ने होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्ले बताउँछन् ।
महासंघका अध्यक्ष काफ्ले लुम्बिनी साना ठूला गरी करिब ११ हजार होटल सञ्चालनमा रहेको बताउँदै भन्छन्, ‘ती होटलहरूले ५५ हजारदेखि ६० हजारलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।’

लुम्बिनीमा होटल व्यवसाय क्षेत्रमा करिब २ खर्ब लगानी रहेको अनुमान गर्दै महासंघका लुम्बिनी अध्यक्ष काफ्लेले भने, ‘हाम्रो प्रदेशमा मात्रै होटल क्षेत्रबाट ४० करोड कर राज्यले असुलिरहेको छ ।’ अध्यक्ष काफ्लेले ठूलो लगानी गरी रोजगारी सिर्जना गरिरहेको होटल क्षेत्रका लागि राज्यबाट दीर्घकालीन प्याकेज आउनु पर्ने बताउँछन् ।

‘बाह्य पर्यटकलाई सेवा दिएर विदेशी मुद्रा आर्जन भएको छ, आन्तरिक पर्यटन प्रवद्र्धनको काम पनि होटल क्षेत्रले गरेको छ’, महासंघका लुम्बिनी अध्यक्ष काफ्लेले भने, ‘कोभिडका कारण थिलोथिलो परेको होटल तथा पर्यटन क्षेत्र पुनः आगाडि बढिरहेका बेला राज्यले त्यसलाई सघाउने कार्यक्रम अगाडि बषउनु पर्छ ।’

संघीयता पछि बाँकेको होटल, व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भयो । ‘संघीयता पछिको कोभिड र बैंकब्याज, चर्को घरभाडाले होटल क्षेत्र चल्नै नसक्ने अवस्थामा पुग्यो, केही होटल त बन्द नै भए’, बाँकेका होटल व्यवसायी भन्छन्, ‘सुस्तै भएपनि बाँकेमा साना र मझौला होटलमा सेवाग्राही बढ्दै छन्, ठूला होटल पर्यटक भित्रिने आशामा छन् ।’

बाँकेमा मात्रै १२ अर्ब बढी लगानी होटल क्षेत्रमा रहेको अनुमान होटल व्यवसायी संघ बाँकेको रहेको छ । ‘साना–ठूला गरी ३ हजारको हाराहारीमा बाँकेमा होटल व्यवसायी रहेको अनुमान छ’, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष खड्का भन्छन्, ‘सबै व्यवसायी संगठित हुनुहुन्न ।’

बाँके भारतीय पर्यटकहरू घुमफिर गर्न आउने ठाउँ हो । प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, बाँकेको बाटो भएर विभिन्न जिल्ला जाने धार्मिक तथा घुमफिर गर्ने पर्यटक, यहाँ खुलेका क्यासिनोमा आउने भारतीय पर्यटकको गन्तव्य बाँके हो ।

नेपालगन्जबाट हुम्ला सिमकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएका कारण खास गरी भारतीय पर्यटक बाँके भएर जाने गरेका छन् । उनीहरूको गन्तव्य बाँके हुँदा त्यसको लाभ मध्यम तथा स्तरीय होटललाई भैरहेको छ ।

कोरोना महामारीको सङ्क्रमण कम भएसँगै भारतीय धार्मिकलगायतसहित आन्तरिक पर्यटकको आवागमन बढेपछि सबै किसिमका होटलको व्यापार पुनः राम्रो हुन थालेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष खड्का बताउँछन् ।

मानसरोवर मात्र नभएर नेपालगन्जदेखि हुम्ला, डोल्पा, खप्तड, रारामा ट्रेकिङ सुरु भएपछि तेस्रो मुलुकका पर्यटक पनि आउन थालेको होटल व्यवसायी बताउँछन् । नेपालगन्जमा रहेको क्षेत्रीय विमानस्थल, नेपालगञ्ज–पोखरा उडान र भारतका विभिन्न सहरसँग सडक यातायातमार्फतको कनेक्टिभिटीका कारण यहाँ पर्यटक आगमन बढ्दै गएको छ ।

बाँके, बर्दिया, सुर्खेत, कर्णाली, रारा, स्वर्गद्वारी, कर्णाली चिसापानीलगायत विभिन्न स्थानमा जाने आन्तरिक पर्यटक पहिले नेपालगन्ज र कोहलपुर नै पुग्नुपर्ने भएकाले पनि होटलको भविष्य राम्रो रहेको संघले जनाएको छ ।
बाँकेमा निजी क्षेत्रले समेत पर्यटकहरू भित्र्याउन विभिन्न गन्तव्यहरूको प्रवद्र्धनका लागि स्थानीयदेखि केन्द्रीय सरकारसम्म पहल गरिरहेका छन् । नाट्टा बाँकेले नेपालगन्जमा वेष्टर्न मार्ट समेत आयोजना गर्यो, जसले गर्दा मानसरोवर दुरदर्शन गर्ने यात्री ह्वात्तै वृद्धि भएको छ ।

Exit mobile version