१. नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।
२. स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ ।
३. नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुलेको प्रतिक्रिया दिए ।
४. जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्टहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद हो भन्ने ठानिरहेको अध्यक्ष यादवको आरोप छ ।
५. चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता घटनाका आरोपी बादशाह कुर्मीलाई लुम्बिनी सरकारको मन्त्री बनाएकामा आपत्ति जनाएका छन् ।
६. गत आर्थिक वर्ष २०८०÷८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।
- नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०÷८१ मा महसुल नबुझाउने एक हजार एक सय ७० ग्राहकको लाइन काटेको छ । केन्द्रका प्रमुख सञ्जीवकुमार साहले वर्षभरिमा लाइन काटिएकामध्ये एक हजार एक सय ३६ ग्राहकले बक्यौता महसुल र जरिवाना तिरेपछि पुनःविद्युत् जडान गरिएको बताए ।
८. सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।