कुश‘अ जम्बी ड्रग’
बिशाल रानामगर
अप्रिल महिनाको अन्तिम साता म पश्चिम अफ्रिकी राष्ट्र सियरालियोनको दोस्रो ठुलो शहर बो पुगेको थिएँ । भोलिपल्ट अप्रिल २७ मा सियरालियोनले ६३ औं स्वतन्त्रता दिवस मनाउँदै थियो ।
स्वतन्त्रता दिवसको दिन बोमा लागुऔषध ‘कुश’ विरुद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको थियो । मलाई पनि सहकर्मी साथीहरूले र्यालीमा सहभागी गराए ।
हामीले बो शहरको मुख्य भागको परिक्रमा गर्यौं । केही छिनमा र्याली एउटा बस्तीमा छिर्यो । मसँग रहेका मित्रले भने, ‘अब हेर्नु है यहाँ कुश सेवनकर्ताहरू भेटिन्छन् । अनि कुश बिक्रेतापनि ।’
मलाई अलि असहज लाग्यो । तर र्यालीमा भएकाले म पनि उनिहरूसँगै अगाडि बढे । स्थानीय प्रहरी सहितको आयोजनामा कार्यक्रम भएको थियो । मित्रले भनेझै बस्ती भित्र र्याली गरिरहँदा कुश प्रयोगकर्ताहरू भेटिए । तीमध्ये केही त नाबालकहरू पनि थिए ।
बो मात्र होइन सियरालियोनको राजधानी फ्रिटाउन र देशका अन्य भागमा पनि कुशको प्रयोग व्यापक छ ।
के हो कुश ?
मैले चिनेको कुश एक प्रकारको घाँस हो । हिन्दु धर्ममा कुशलाई पवित्र मानिन्छ । कुशलाई हिन्दुहरू धार्मिक अनुष्ठान, पुजा, यज्ञ र हवनमा कुशको प्रयोग गर्दछन् ।
तर मैले यहाँचर्चा गर्न खोजेको कुश भने पवित्र घाँस नभई एक घातक लागु औषधको हो । जसलाई ‘जम्बी ड्रग’पनि भनिन्छ । कुशको सेवनले अस्वाभाविक भाग भंगीमा देखिने हुनाले यसलाई जम्बी ड्रग भनिएको रहेछ । यसले पश्चिमी अफ्रिकी मुलुक सियरालियोनका युवाहरूको जीवन बर्बादीतर्फ धकेलेको छ ।
लागुऔषध एक आपतकाल
म सियरालियोन पुग्नु दुई हप्ताअगाडी सियरालियोनका राष्ट्रपति जुलियस मादा बायोले व्यापक लागू औषध दुरूपयोगलाई लिएर राष्ट्रिय आपतकाल घोषणा गरेका थिए । राष्ट्रपति बायोले आप्mनो देशमा बढ्दै गएको लागु औषध प्रयोगलाई ‘मृत्यु जाल’ भनेका छन् ।
राष्ट्रपति बायोले लागुऔषध दुरूपयोगलाई लिएर राष्ट्रिय आपतकालको घोषणा गरेको भएता पनि कुश समस्या समाधानकालागि उचित रणनीति तथा योजना नबनाएको भन्दै उनको आलोचना भइरहेको छ ।
मलाई कुशको बारेमा थप जान्न मन लागेको थियो ।
कुशको बारेमा बीबीसी अफ्रिका आइज युट्युब च्यानलमा एउटा भिडियो डकुमेन्टी पनि हेरेको थिएँ । यसमा कुशको प्रयोग र यसले युवाहरूको जीवनको बारेमा पारेको प्रभावको बारेमा देखाइएको छ ।
लागु औषध कुशबारे बीबीसी अफ्रिकाआइजको डकुमेन्टी https://www.youtube.com/watch?v=u6MPV9zBXYg&t=18s&ab_channel=BBCNewsAfrica
कुशले निम्त्याएको बर्बादी
कुशको सेवनले सियेरालियोनियन युवाहरूमा गम्भीर मानसिक स्वास्थ्य समस्याहरू देखिन थालेका छन् । आधिकारिक रूपमा सियरालियोनमा लागु पदार्थ कुश प्रयोगकर्ताहरूको यकिन तथ्यांक छैन ।
यद्यपि, बीबीसीले सियरालियोनको एकमात्र मानसिक अस्पतालकाको तथ्यांकलाई उद्दृत गर्दै लेखेको समाचारमा सन् २०२० देखि २०२३ सम्म कुशसँग सम्बन्धित भर्नाहरू लगभग ४,०००% ले वृद्धि भई १,८६५ पुगेको छ ।
कुश प्रयोगकर्ताहरू बढ्दै गएतापनि रोकथाम र उपचारको यथोचित व्यवस्था भने हुन सकेको छैन । कुशलागु औषध छाड्न चाहनेहरूको लागिपनि उचित उपचार तथा हेरचाहको व्यवस्था छैन ।
बेरोजगारी एक प्रमुख कारण
सियरालियोनको कुल जनसंख्याको ३० प्रतिशत युवा (१८(३५ वर्ष) उमेर समूहका छन् । सियेरालियोनमा बेरोजगारी दर उच्च छ । बेरोजगारी र गरिबीले युवाहरूलाई लागू औषधतर्फ आकर्षित गरेको छ ।
यस बाहेक लागु औषधको सहज उपलब्धता पनि एक प्रमुख कारण हो । सियरालियोनले विगतमा धेरै सामाजिक र राजनीतिक अस्थिरता भोगेको छ, जसले गर्दा मानिसहरूमा मानसिक तनाव र असुरक्षा उत्पन्न भएको छ ।
यस्तो परिस्थितिमा, मानिसहरूले आफूलाई अस्थायी रूपमा तनावमुक्त गर्न लागू औषधको प्रयोग गर्ने गरेको विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएको छ ।
कुश बनाउन मानव हड्डीको धुलो !
मलाई अझ चासो लागेको कुरा भने कुश बनाउन के के सामाग्रीको प्रयोग गरिन्छ भन्ने हो । मैले सियरालियोन भ्रमणका क्रममा यस विषयमा केही व्यक्तिहरूलाई सोधेका थिएँ । मैले कुरा गरेका मान्छेहरू र विभिन्न मिडिया रिपोर्टहरूले लागु औषध कुश बनाउनको लागि मान्छेको हड्डीको धुलो पनि प्रयोग गरिने गरिएको बताए ।
कुश जडीबुटी, गाँजा, र किटाणु नाशक पदार्थहरूबाट बनाइन्छ । कुशलाई अझ बढि कडा बनाउनको लागि मानव हड्डीको धुलो प्रयोग गरिने बताइएको छ । सम्भवतः मानवहड्डीहरूको सल्फर सामग्रीको कारणले कुश अझ बढि कडा भएको हुन सक्छ ।
यस कारण कुश कारोबारीहरूले लागू पदार्थ कुश बनाउनको लागि चिहानबाट मानव हड्डीहरू निकाल्न थालेका समाचारहरूमा जनाइएको छ ।
बीबीसीलेनै प्रकाशन गरेको समाचारमा कुश दुव्र्यसनीहरूलाई मानव चिहानबाट कंकालहरू खन्न रोक्नका लागि सुरक्षा कडा पारिएको जनाइएको छ ।
लागु औषध प्रयोगको उस्तै रूप
नेपालमा पनि लागु औषधको प्रयोग वृद्धि भइरहेको छ । जुन २०२० मा सार्वजनिक गरिएको नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण अनुसार, नेपालमा १ लाख ३० हजार ४ सय २४ जनाले लागु औषध प्रयोग गर्ने अनुमान गरिएको छ ।
यो संख्या २००८ मा ४३,३०९ बाट तीन गुणाको वृद्धि हो । सन २०१२ मा, नेपालमा ९१,५३४ लागुपदार्थ प्रयोगकर्ताहरू थिए ।
सन् २०२० मा सार्वजनिक गरिएको सर्वेक्षणले देखाएको लागुऔषध प्रयोगकर्ताको अनुमानित संख्या मध्ये ९३ दशमलव ३ प्रतिशत पुरुष र ६ दशमलब ७ प्रतिशत महिला रहेका छन् । कुल लागु औषध प्रयोगकर्ता मध्ये ७६ दशमलव २ प्रतिशत ३० वर्ष मुनिका रहेका छन् ।
सोही प्रतिवेदन अनुसार, लागु पदार्थमा लत भएका मध्ये ७.२ प्रतिशत १५–१९ वर्ष उमेर समूहका थिए, ३४.३ प्रतिशत २०–२५ वर्ष उमेर समूहका, ३५.२ प्रतिशत २५–२९ वर्ष उमेर समूहका थिए र १२.६ प्रतिशत ३०–३४ वर्ष उमेर समूहका थिए ।
यो सर्वेक्षण प्रत्येक पाँच वर्षमा गरिन्छ । अर्को सर्वेक्षणले लागुपदार्थ प्रयोगकर्ताहरूको संख्या दुई गुणाले वृद्धि भएको देखाउने अपेक्षा गरिएको छ ।
बाँके जिल्लामा लागु औषध र उपचार
भारतसँगको खुला सिमाना रहेको बाँके जिल्लामा पनि लागु औषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । हरेक दिन जस्तो लागु औषध ओसारपसारका घटनाबारे समाचार छापिएका हुन्छन् ।
लागु औषध रोकथाम तथा उपचारमा संलग्नहरूसँग गरिएको कुराकानीका अनुसार खुला सिमाना र लागु औषधको सहज पहुँच पनि लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धिको एक मुख्य कारण हो ।
यसका साथै अभिभावकको कमजोर निगरानी तथा असल मार्गदर्शनको कमी तथा चिन्ता र तनावले युवाहरू लागु औषधमा फँस्ने गरेको लागु औषध दुव्र्यसन विरुद्ध कार्यरत युवाहरू बताउँछन् ।
लागु औषध दुव्र्यसन पुनःस्थापना केन्द्र सन्चालन गरिरहेका प्रविण बिसी बाँके जिल्लामा मात्र ५ देखि ७ हजारको संख्यामा लागु औषध प्रयोगकर्ता हुन सक्ने अनुमान गर्छन् ।
बिसीका अनुसार हाल बाँके जिल्लामा लागु औषध दुव्र्यसनमा परेकाहरूको उपचार तथा पुनःस्थापनामा सहयोग गर्नका लागि १७ वटा पुनःस्थापना केन्द्रहरू सन्चालनमा छन् । जसमध्ये २ वटा महिला लागु औषध प्रयोगकर्ता लक्षित हुन् । बाँके जिल्लामा रहेका लागु औषध पुनःस्थापना केन्द्रमा हाल करिब ५ सयले उपचार सेवा लिइरहेका छन् ।
लागु औषध अपराध कि रोग ?
लागु औषध प्रयोगलाई राज्यले अपराध बुझेको छ । कानुन त्यसै भन्छ । अपराध भन्दा रोगको रूपमा बुझिदिनुपर्नेमा लागुऔषधविरुद्धका अभियन्ता बिसी जोड दिन्छन् ।
लागु औषध प्रयोगकर्ताले उपचार विधिबाट लागु औषधको कुलत छाड्न सक्ने भएकाले उनिहरूको उपचारमा ध्यान दिनुपर्नेमा बिसीको जोड हो । ‘कुनै पनि व्यक्तिले लागु औषध प्रयोग गर्छ भन्ने थाहा पाएमा घर परिवार र समाजले उनिहरूलाई हेला र दुव्र्यवहार होइन उपचारमा जान मद्दत गर्नुपर्छ’, बिसी भन्छन्, ‘लागुऔषधको प्रयोग पनि एक रोग हो, यसको उपचार सम्भव छ ।’
चाहियो राज्यको सहयोग
लागु औषध विरुद्ध अभियानमा सक्रिय संस्थाहरूले लागु औषध प्रयोगकर्ताको उपचार तथा पुनःस्थापनाका लागि राज्यको सहयोग बढाइनुपर्नेमा जोड दिन्छन् ।
चेन्ज टिम नामक संस्थामा समेत आवद्ध विसीले राज्यको प्राथमिकतामा लागु औषध दुव्र्यसन नपरेको गुनासो गरे । ‘राज्यले लागु औषध प्रयोगकर्ताहरूको उपचारमा लगानी गर्नु जरुरी छ,’ विसीले दैनिक नेपालगन्जसँग भने, ‘लागु औषध प्रयोगकर्ताहरूलाई आयमूलक सीप प्रदान गर्नु पनि जरुरी छ ।’