लुम्बिनीमा होटल व्यवसायबाट ६० हजारलाई रोजगारी

लुम्बिनी प्रदेशमा होटल व्यवसाय क्षेत्रले ६० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

प्रदेशका १२ जिल्लामा रहेका सानाठूलागरी करिब ११ हजार होटल व्यवसायीले प्रत्यक्ष रूपमा ६० हजारलाई रोजगारी प्रदान गर्दै आएको होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले जानकारी दिनुभयो ।

उहाँले यस क्षेत्रमा यहाँ करिब रु दुई खर्ब लगानी भएको बताउनुभयो । “लुम्बिनी प्रदेशमा होटल क्षेत्रमा रु दुई खर्ब बराबरको लगानी निजी क्षेत्रबाट भएको छ”, संस्थापक अध्यक्ष काफ्लेले भन्नुभयो, “कम्तीमा ६० हजारलाई रोजगारी प्रदान गरेका त छँदैछौँ होटल व्यवसाय क्षेत्रबाट राज्यलाई करिब ४० करोड वार्षिक करसमेत भुक्तानी हुँदै आएको छ ।”

पछिल्लो समय भने यहाँको पर्यटन व्यवसाय चलायमान नहुँदा होटल व्यवसायसमेत दबाबमा रहेको उहाँले धारणा राख्नुभयो । साना, मझौलादेखि तारे होटलसम्मका व्यवसायी मर्कामा परेकाले यस क्षेत्रलाई बचाइराख्न राज्यकोतर्फबाट उचित पुनरुत्थान र राहतको दीर्घकालीन प्याकेज आवश्यक रहेको काफ्लको भनाइ छ ।

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ पर्यटन प्रवद्र्धन नै होटल व्यवसायको मुख्य आधार भएकाले होटल व्यवसायीलगायत सरोकार भएकाहरूले यसतर्फ ध्यान दिनुपर्ने बताउनुहुन्छ । होटल व्यवयासीले सम्बन्धित जिल्लाका संस्कार र संस्कृतिसहित पर्यटकीय सम्पदाको तस्बिर होटलका कोठा र हलमा राख्ने तथा सम्पदाको नामबाट नामकरण गर्ने अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । मुलुकमा ठूलोमात्रामा रोजगारीको सिर्जना र राज्यलाई कर तिर्दै आए पनि आफूहरूलाई सरकारले गर्ने व्यवहार भने सकारात्मक नभएको अध्यक्ष श्रेष्ठको गुनासो गर्नुहुन्छ । “हामीले आफ्नोतर्फबाट लगानी, रोजगारी सिर्जना र राज्यलाई कर तिर्न इमान्दार प्रयत्न गरिरहेका छौँ । सरकारले होटल तथा पर्यटन व्यवसायमैत्री नीति ल्याउनसके होटल व्यवसाय फस्टाउँदै जाने र थप रोजगारीको सिर्जना हुने हाम्रो विश्वास छ । यसका लागि प्रदेश सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

राज्यले होटल व्यवसायलाई उद्योगका रूपमा दर्ता गरे पनि हालसम्म आफूहरूले सोअनुसार कुनै पनि सेवासुविधा नपाएको व्यवसायीले बताएका छन् ।

Exit mobile version