१. देशभर हैजा संक्रमितको संख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर संक्रमितको संख्या २५ पुगेको हो ।
२. नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् ।
३. घरमा लुकाइछिपाइ राखेको ५० किलो लागूऔषध गाँजासहित प्रहरीले ठोरी गाउँपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौ रहेकी छिन् ।
४. कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेशसभाबाट दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार गठन भएपछि उनले विश्वासको मत लिएका थिए ।
५. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको घाइते बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा राखिएको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको उक्त बाघ राति उद्धार केन्द्रमा राखिएको हो ।
६. लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलबाट हटाइएको मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् । बुटवल मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए ।
७. सुत्केरी हुँदा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेलले विभिन्न अध्ययनहरुले स्तनपान गराउने महिलामा भन्दा नगराउने महिलामा क्यान्सरको जोखिम उच्च रहेको देखिएको बताए ।
८. नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ् ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।