१. बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।
२. बुधबार सिंहदरबारमा टिआरसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय हुने बताएका छन् ।
३. भारतका विदेश सचिव विक्रम मिस्रीले आउँदो साता नेपाल भ्रमण गर्ने भएका छन् । बंगलादेशको घटनाक्रमका कारण कुनै अन्यथा नभए उनी आइतबार र सोमबार नेपाल भ्रमणमा रहनेछन् ।
४. नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ ।
५. पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारि सुस्तामा विद्युत् प्रसारण लाइन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।
६. हेटौंडामा कम्पनी दर्ता गरी कार्यालय खोलेर अनलाइन ठगी धन्दा चलाएको आरोपमा ९ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
७. गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार बढी अंक प्राप्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ ।
८. गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका‐१ बिसौनामा मङ्गलबार बिहान पहिरोमा परि मृत्यु भएका दुई घरपरिवारका चार जनाको बुधबार स्थानीय बढीगाढ खोलामा सामूहिक दाहसंस्कर गरिएको हो ।