नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ स्थित पुरानो सामुदायिक विद्यालय श्री देउतादिन मावि कारकाँदोका विद्यार्थीले नयाँ कक्षाकोठा पाएका छन् ।
नेपालगन्ज–१८ का वडाध्यक्ष दिपक कुमार बर्माले वडाकै पहलमा निर्माण गरिएको चार कोठे भवन शुक्रबार उद्घाटन गर्दै विद्यार्थीलाई कक्षा कोठा हस्तान्तरण गरेका हुन् । २०१० सालमा बनेको मावि लग्दहवा वडाकै पछिल्लो निर्णयले जग्गादाता देउतादिनको नाममा भएलगत्तै वडाध्यक्ष बर्माको नेतृत्वमा एक करोड बजेट व्यवस्थापन गरी आधुनिक चारकोठे भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वेद प्रकाश बर्माको अध्यक्षमा भएको कार्यक्रममा चार कोठे विद्यालय भवन उद्घाटन गर्दै वडाध्यक्ष बर्माले भने, ‘कक्षाकोठाको व्यवस्थापनसँगै त्यसका लागि चाहिने विद्यार्थी मैत्री डेस्कबेन्च सहितका आवश्यक सामाग्रीहरूको व्यवस्थापन गरिनेछ ।’ वडाध्यक्ष बर्माले पूर्वाधारसँगै गुणस्तरीय शिक्षाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सटर समेत निर्माण गरी भाडामा लगाइएको जानकारी दिंदै भने, ‘त्यसबाट प्राप्त हुने रकमबाट शिक्षक व्यवस्थापन समेत गरिनेछ ।’
वडाले सडक, नाला, पार्क लगायतका पूर्वाधारहरू निर्माणलाई एउटा चरणमा पुर्याइसकेकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफु अगाडि बढिरहेको वडाध्यक्ष बर्माले बताए ।