लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्तीमगर सरकारमा अधिनायकवादी चरित्र देखिएको टिप्पणी गरेका छन् ।
शुक्रबार बाँकेको कोहलपुरमा बहुसंख्यक प्रदेशसभाका सांसदहरूसँग गरिएको एउटा अन्तरक्रियात्मक कार्यशाला उद्घाटन गर्दै सभामुख घर्तीले भने, ‘चाहे प्रदेश सरकार होस्, चाहे संघीय सरकार, सरकारमा अधिनायकवादी चरित्र देखा पर्दो रहेछ ।’ सुशासनका लागि सूचनाको हक विषयक अन्तरक्रियात्मक कार्यशालामा राष्ट्रिय सूचना आयोगको प्रभावकारिता खोज्दै सभामुख घर्तीले सूचना दिनै नचाहने सरकारी प्रवृत्तिलाई कसरी निरुत्साहित गर्ने भन्ने कुरामा ध्यान दिन सुझाव दिए ।
जनप्रतिनिधिको थलोका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा बारे सकारात्मक टिप्पणी गरेका सभामुख घर्तीले ‘संसद लोकतान्त्रिक चरित्रको हुने तर सरकारमा अधिनायकवादी चरित्र रहने’ धारणा राख्दै भने, ‘केन्द्र होस् वा प्रदेश सांसदका कुरा सरकारले सुनेन ।’