दुर्घटना न्यूनीकरण गरी अपाङ्गता हुनबाट जोगाउन राज्यले विशेष अभियानहरु सञ्चालन गर्नुपर्नेमा अधिकारकर्मीको अपील ।
हिमाल गैरे
रोजगारीका लागि मलेसियामा रहेका रोल्पा माडी गाँउपालिका वडा नम्बर ३ का केशु खड्काका लागि भदौ १६ गते जिन्दगीभर कहालीलाग्दो रह्यो ।
घर्तीगाउँ बजारबाट आफ्नो घर फर्किदै गर्दा उनकी श्रीमति सहित ७ जनाले माडीगाउँपालिका ३ परेवाछरा भन्ने स्थानमा चालकको लापरवाहीका कारण ज्यान गुमाएका थिए । ५ वर्षीय छोराको थप उपचारका क्रममा बुटवलमा मृत्यु भएको थियो ।
घरपरिवार सबै व्यवस्थापन गरि राम्रो गुजारा गर्दै आएका खड्कालाई श्रीमति, छोरा सहित ८ जनाको मृत्युको कारण बनेका सवारी चालक भने खुलेयाम गाउँ घुमिरहेको देख्दा निरीह प्रशासन निरीहप्रति थप पीडा छ । उनी भन्छन्, दण्डहीनताले थप प्रताडित हुने गरेको हुन्छु ।
‘सहचालकलाई नराखी चालकले स्टेरिंङ्ग छाडेका बेला गाडी ब्याक हुँदा उक्त पीडादायी घटना भएको घटनास्थलका प्रत्यक्षदर्शी भन्छन्,’ खड्काले पीडा पोख्दै दैनिक नेपालगन्जसँग भन्छन्, ‘चालकले घर्तीगाउँबाट तालावाङ जाने क्रममा मदिरा समेत सेवन गरेको भए पनि भनसुनका आधारमा उनी कानुनी कारबाहीको दायरामा आएनन् ।’ खुलेयाम घुमिरहेका चालकलाई दुर्घटनाप्रति जिम्मेवार बनाइनु पर्ने तर्क राख्दै खड्काले थपे – ‘यो उमेरमा श्रीमति र छोरो गुमाए संगै राज्यले दोषी उपर कारवाही नगर्दा मलाई थप दुखी बनाएको छ ।’
२०८१ असार २७ घरबाट कामका निम्ती जाने क्रममा बाँकेको कोहलपुरमा सवारी साधनबाट झर्ने बेलाभे.१.च ४४९० को गाडीले ठक्कर दिएका कोहलपुरका ३९ वर्षका धनीराम थारु अहिले नियमित उपचारमा छन् । बायाँ खुट्टामा गम्भीर चोट बनेका थारुको उपचार हुने बताए पछि अहिले खुट्टा काटिएको छ र नियमित ड्रेसिङ्ग गराइरहेका छन् । छोराछोरीसंग जीविका चलाउन असहज भएरहेको बेला ३० वर्षकी श्रीमति मञ्जुकुमारी थारुलाई अहिले सहिनसक्नु व्यथा आइपरेको छ ।
‘आफ्नो कुनै दोष नहुँदा पनि अहिले यस्तो सहनुपरेको छ, उपचार चल्दैछ अझै के हुने हो टुङ्गो छैन्’ थारुले दैनिक नेपालगन्जसँग दुखेसो पोखे । गाडी चलाई जीविका चलाउने थारु आफ्नो भन्दा पनि परिवारका कारण थप पीडित भएको बताउँछन् ।
प्रस्तुत यी प्रतिनिधि घटना दुर्घटनाका कारणले परिवारमा आएको बज्रपातका उदाहरण मात्र हुन् । यस्ता घटनाले परिवारको आर्थिक बोझ, तनावका साथै मनोसामाजिक समस्या लगायतका कुरालाई सहज चित्रण गर्दछ । संगै न्यायको खोजी दुवै परिवारले गरे सो प्राप्त गर्नेमा दुवै आशावादी मात्रै छन्, ढुक्क छैनन् ।
नेपालमा दुर्घटनाका कारण खड्का र थारु जस्ता परिवारका सदस्य गुमाउने वा अपाङ्गता हुनेको संख्या वर्षेनी बढ्दो छ । सवारी अनुशासन नियमन नगरिनु, सवारी नियमको पर्याप्त पालना नगरिनु, सडक संरचनाको सही व्यवस्थापन लगायतका कारण गएको ५ वर्षमा लुम्बिनी प्रदेश २ हजार ५ सय ९ ले ज्यान गुमाएका छन् । यस बाहेक ५ हजार ७३ जना गम्भीर घाइते भई अपाङ्गताका साथ जीवन बिताउनुपरेको छ ।
लुम्बिनीमा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला रुपन्देही रहेको छ भने दोश्रोमा दाङ रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय अध्यक्ष देवीदत्त आचार्य दुर्घटना हुने मुख्य कारणहरुमा ट्राफिक नियमहरु कडाईका साथ पालना गराउने, नियमनकारी निकायहरुले प्रभावकारी कार्यान्वयन गराउन नसक्नुनै रहेकोे बताउँछन् ।
शक्तिको आडमा १५ लाखमा मेलमिलाप गरेका भए पनि थारु जस्ता गम्भीर घाइते भएका व्यक्तिहरुलाई राज्यले विशेष सुविधा दिनुपर्ने आचार्यले सुझाए ।
अधिकारकर्मी आचार्यका अनुसार, दुर्घटनाबाट अपाङ्गता हुनेको संख्या असंख्य छ । सडक दुर्घटनामा घाइते वा अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक पहुँच कम भएको व्यक्तिहरुले आफु घाइते र अपाङ्गता भएकाले सहयोग पाएका छैनन् ।
‘उपचारमा पनि उनीहरुले आर्थिक चलखेल गरेर समयमा उपचारका लागि नियमनकारी निकायले चासो दिनुपर्ने हो तर त्यो कम पाएका छौं,’ आचार्य भन्छन्, ‘सवारी दुर्घटनाका कारण अपाङ्गताको संख्या बढ्नु दुखद हो, यसको न्यूनिकरणका निम्ती हामी बेलैमा संवेदनशील हुनुपर्दछ ।’
अपाङ्गताको अवस्थाको सामना गरिरहेकी धनराम थारुकी श्रीमति मञ्जुकुमारी राज्यले आफ्नो श्रीमान वा परिवारका सदस्यलाई आयमुलक क्रियाकलाप गर्नका निम्ती सहयोग गर्नुपर्ने जिकिर गरिन् ।
विपद्, महामारी भन्दा पनि दुर्घटनाका कारण वर्षेनी धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको र यसलाई रोक्न वा कम गर्न बेलैमा लाग्नुपर्ने सरोकारवालाले बताउँने गरेका छन् ।
सवारीसधान चलाउँदा मोवाइलमा कुराकानी गर्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने, चालकलाई आराममा कमी हुनुका साथै अध्याधिक मानसिक दवाव, लागुपदार्थ वा औषधीको दुरुपयोग लगायतका कुरालाई बेलैमा सच्चाउनुपर्ने उनीहरुको सुझाव छ ।
ट्राफिक प्रहरीले मुख्यतः सडक दुर्घटनाका मुलकारणहरुलाई ५ भागमा विभाजन गरेर व्याख्या गर्ने गर्दछ । जसमध्ये, पहिलो चालकका कारण, दोश्रो सवारी साधनका कारण, तेश्रो यात्रुका कारण, चौथो सडकको पूर्वाधार र पाँचौं मौसमको कारण दुर्घटना हुने गरेका छन् उनीहरुको विश्लेषण छ ।
अपाङ्गताको ठुलो कारण दुर्घटना
देवीदत्त आचार्य
केन्द्रिय अध्यक्ष
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
दुर्घटना हुनुको प्रमुख कारण चालकहरुको लापरवाही, अवैध औषधी सेवन वा मादक पदार्थ सेवन हावी भएर आएको छ । दुर्घटनाबाट अपाङ्गता हुनेहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । दुर्घटना न्यूनीकरण गरी अपाङ्गता हुनबाट जोगाउन राज्यले विशेष अभियानहरु सञ्चालन गर्नुपर्ने देखिन्छ ।
दुर्घटना हुने मुख्य कारणहरुमा मैले महशुस गरे अनुसार, ट्राफिक नियमहरु कडाईका साथ पालना गराउने नियमनकारी निकायहरुले प्रभावकारी कार्यान्वयन गराउन नसकेको प्रमुख कारण हो ।
त्यसैगरी दुर्घटना न्यूनीकरणका लागि सामूदायिक सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हो । मानिसहरु विभिन्न ठाउँ जाने क्रममा ट्राफिक नियम उल्लंघन गर्दा चाही दुर्घटना बढिरहेको हामीले पाएका छौं ।
त्यसैगरी सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गर्नुको साथै ड्राइभिङ गर्दा मदिरा सेवन गर्ने, गाडी चलाइरहँदा मोबाइलमा कुरा गरिरहेको पाएका छौं । त्यसले पनि दुर्घटना बढाएको छ । चालकले रेष्ट गरेर सहचालकले गाडी चलाएको पनि हामी पाएका छौं ।
त्यस्तो अवस्थामा पनि दुर्घटना चाहीँ बढेको छ । लामो यात्राका क्रममा एउटै ड्राइभरले लामो समयसम्म चलाइराख्दा चाहीँ दुर्घटनाहरु बढिरहेको छ । यसले गर्दा व्यक्तिहरु घाइते हुने अपांगता हुने अवस्था छ ।
यसलाई रोक्नका लागि राज्यले विभिन्न निकायहरुलाई प्रभावकारी रुपमा परिचालन गर्नु पर्ने, सामुदायिक स्वयंसेवक परिचालन गर्ने, सामुदायिक सचेतना पनि लगातार गर्नुपर्ने, मोबाइलको प्रयोग गाडी चालकलाई निगरानी गर्ने, विभिन्न चोकचौराहमा पोष्ट स्पिड मापन गर्ने गर्नुपर्दछ ।
सडक दुर्घटनामा घाइते वा अपांगता भएका व्यक्तिहरुको राजनीतिक पहुँच कम भएको व्यक्तिहरुले आफु सक्त घाइते र अपांगता भएकाले सपोर्ट कम भएको हामीले पाएका छौं । उपचारमा पनि उनीहरुले आर्थिक चलखेल गरेर समयमा उपचारका लागि नियमनकारी निकायले चासो दिनुपर्ने हो तर त्यो कम पाएका छौं ।
पहुँचका आधारमा पीडितले उपयुक्त क्षतिपूर्ति पाउन सकेको छैन । सवारी ऐनमा अंगभंग भएकालाई भरपोषण वाअन्य परिपूरणको व्यवस्था गरेको छ । त्यो चाही यातायात व्यवसायीहरुले पहुँचका आधारमा नदिरहेको पाउँछौं ।
सरोकारवालाको भूमिका आवश्यक
गत ५ आर्थिक वर्षमा ५ हजार ५ सय ९ दुर्घटनाबाट २ हजार ५ सय ९ को मृत्यु, ५ हजार ७६ गम्भिर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरीको डाटाले देखाउँछ । सोही सन्दर्भमा ट्राफिक प्रदेश प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीसँग गरिएको कुराकानीको संक्षेप ।
सडक दुर्घटना हुनुका मुल कारणहरू के पाउनु भएको छ ?
दुर्घटना हुनुको विभिन्न कारण रहेका छन् । सडकको अवस्थाका पनि दुर्घटना हुने गरेको छ । खाल्डा खुल्डी रहेको, पहाडी भेगमा कच्ची सडक, सडक मर्मत सम्भार समयमा नहुनु, बाटो काट्ने ठाउँमा सबै ठाउँमा जेब्रा क्रसिङको व्यवस्था नहुनु, सबै सडकमा सडकपेटिको व्यवस्था नहुनु, सडक बत्तिको अभाव, ट्राफिक लाइट नहुनु दुर्घटनाका कारण हुन् ।
चालकको लापरवाही दुर्घटनाको अर्को कारण हो । तिब्र गतिमा सवारी साधन चलाउनु, केही चालकहरूले मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउनु, सिट क्षमता भन्दा बढी यात्रु राखी चलाउनु, सवारी साधनहरूबिच प्रतिसपर्धा गरी सवारी चलाउनु, यात्रु खोस्ने प्रवितिको बृद्धि हुनु, ट्राफिक नियमको सहि पालना नगर्नु, सवारी साधन चलाउदा मोवाईल फोनको प्रयोग गर्नु पनि दुर्घटनाका कारक बनिरहेका छन् ।
यात्रुहरूले पनि नियमको पालना नगर्दा दुर्घटना हुने गरेका छन् । बाटो हिड्दा सडक पेटिको प्रयोग नगर्नु, आकाशे पुलको प्रयोग नगर्नु, जथाभावी बाटो क्रस गर्नु, सवारी साधनको ढोकामा झुण्डिई कोचिएर यात्रा गर्दा पनि दुर्घटना हुने गरेका छन् ।
छाडा चौपाया जथाभावी रूपमा सडकमा छाडि दिंदा तिनले पनि दुर्घटना निम्त्याउने गरेका छन् ।
नगरपालिका, सडक विभाग आदिले ट्राफिक लाईटको व्यवस्था नगर्नु, सडक बत्तिको व्यवस्था नगर्नु,आकाशे पुलको व्यवस्था नगर्नु, छाडा चौपायको व्यवस्थापन नगर्नुले दुर्घटनाको जोखिम बढ्ने गरेको छ । ।
सवारी धनिको तर्फबाट सवारी साधनको समय समयमा चेकजाँच तथा मर्मत नहुनुले दुर्घटनाका घटना हुने गरेका छन् ।
यत्तिका श्रोत साधन लगाउँदा पनि किन होला सडक दुर्घटनामा कमी नआएको ?
चालक, पैदल यात्रीको लापरवाही, जरिवाना रकम कम हुनु, ट्राफिक ज्ञानको कमि हुनु, चालकहरू बिच प्रतिष्पर्धाको होडबाजी, ट्राफिक नियमलाई बेवास्ता गरी सवारी साधन चलाउनु, चालकहरूमा आत्मविश्वास बढ्नु, जरिवाना सवारी धनिले तिर्ने हुँदा चालकहरूमा दायित्व बोध नहुनु हुने लापरवाहीले दुर्घटना न्यूनीकरण चुनौति बनिरहेको छ ।
दुर्घटना रोकथामका लागि के–के गर्न आवश्यक छ ?
भत्किएका, बिग्रिएका, खाल्डा खुल्डी भएका सडकहरू समयमा मर्मत सम्भार हुनु पर्छ । सडकमा बत्तिको व्यवस्था हुनु पर्छ । ट्राफिक लाईटको व्यवस्था, बाटो काट्ने ठाउँमा जेब्रा क्रसिङ वा आकाशेपुलको व्यवस्था, सडक पेटिको व्यवस्था, छाडा चौपायहरूको व्यवस्थापनका साथै चालकहरूमा ट्राफिक नियम पालना चेतनाको विकास गराउनु पर्छ ।
स्थानीय, प्रदेश र संघिय सरकारको के भुमिका देख्नुभएको छ ?
स्थानीय तहले छाडा चौपायको व्यवस्थापन, ट्राफिक लाईटको व्यवस्था, सडक बत्तिको व्यवस्था, आवश्यकता अनुसार सडकमा सिसिक्यामेराको व्यवस्थापन गर्नु पर्छ । ट्राफिक प्रहरीको लागि चाहिने आवश्यक श्रोत साधनको व्यवस्था गर्नुपर्छ । ट्राफिक प्रहरी संग समन्वय गरी काम गर्नुपर्छ ।
ट्राफिक प्रहरीको दरबन्दी भन्दा काजमा कार्यरतको जनशक्ति बढि रहेको हुँदा आवश्यकता अनुसारको दरबन्दी कायम संघीय सरकारले गर्नुपर्छ । सडकमा खटिने ट्राफिक प्रहरीहरूको लागि उचित भत्ताको व्यवस्था र आवश्यक श्रोत साधनको व्यवस्थापन हुनुपर्छ ।
सडक दुर्घटना न्यूनिकरण र रोकथाम गर्न भावी रणनीति के छन् ?
ट्राफिक सचेतनामा जोड दिएका छौं । ट्राफिक प्रहरीहरूलाई विभिन्न अनुशिक्षण तालिमहरू प्रदान गरिनुपर्छ । अति आवश्यक स्थानहरूमा सिसिक्यामेरा जडान गर्नको लागि आवश्यक बजेटको लागि स्थानीय तथा प्रदेश सरकार संग अनुरोध गरिनुपर्छ । छाडा चौपाय व्यवस्थापनको लागि स्थानिय सरकार संग समन्वय गरी कार्य गर्ने, छाडा चौपाय व्यवस्थापनको लागि स्थानिय सरकार संग समन्वय गरी काम गर्न आवश्यक छ । उपलब्ध सीमित श्रोत र साधनको उच्चतम प्रयोग गरेर काम गरिरहेका छौं । ट्राफिक चेकजाँचलाई निरन्तरता दिने सवारी नियम उल्लङघन गर्नेलाई हदै सम्मको कारवाही भैरहेको छ ।