ब्याडमिन्टनमा १ सय ५० खेलाडी सहभागी हुने

अगाामी माघ ११ देखि १३ गतेसम्म प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजना हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ तयारीलाई तिव्रता दिइएको छ । बाँकेमा २४ बर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको प्रवद्र्धक लुम्बिनी खेलकुद परिषद्ले प्रतियोगिताका सफल आयोजनाका लागि निकै चासो राखिराखेको बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । ‘लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको आयोजनाका कार्यहरूबारे चासो राखिरहनु भएको छ, उहाँबाट साथ र सहकार्यको प्रतिबद्धताले हामीलाई हौसला प्रदान गरेको छ’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितामा सहभागिताका लागि आव्हान गरिसकेको जानकारी दिएका छन् । ‘विभागीय सहित र्याङ्किङ्ग लगायतका खेलाडीलाई सहभागिताको आव्हान गरेका हौं’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितालाई लिएर क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिसँग पनि छलफल गरिएको जानकारी दिए ।
प्रतियोगितामा ‘सिड मनी’का लागि पदाधिकारीले नै आर्थिक संकलन गरेका छन् । अध्यक्ष थापा, उपाध्यक्ष मिन मल्ल, सचिव भक्त बहादुर गोदार क्षेत्री, कोषाध्यक्ष जयदेव अवस्थी, सदस्य भाष्कर काफ्ले, खेलप्रेमी अजय कुमार कनोडियाले १० हजार १ सय ‘सिड मनी’ जम्मा गरेका हुन् ।
प्रतियोगिताको तयारीका क्रममा संघले बिहीबारदेखि सचिवालय सञ्चालनमा ल्याएको छ । ‘तीन दिनसम्म चल्ने राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा पाँच वटा विधा राखिएको छ’, आयोजक संघ अध्यक्ष सञ्जय थापाले भने, ‘पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५+ भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ ।’ प्रतियोगितामा विजयी खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था आयोजकले गरेका छन् । आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष मिन बहादुर मल्लले पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५÷१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५÷१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५÷१५ हजार रुपियाँ प्रदान गरिने जानकारी दिए । पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०÷१० हजार र पुरुष युगल (भेट्रान्स ४५ प्लस)तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १०÷१० हजार रुपियाँ प्रदान गरिने संघले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालभरीबाट १ सय ५० जना बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा राखिएको छ । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट संचालन गर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरू आउने भएका छन् । त्यसका लागि एम्पायर लाइन जजमेन्ट अफिसियल डेस्कको निर्णय समेत भैसकेको छ ।
प्रतियोगिताको आयोजनामा ३१ लाख २७ हजार लागत अनुमान गरिएको छ । जसका लागि प्रदेश सरकार लगायतबाट स्रोत जुटाइने आयोजकले जानकारी दिएका छन् ।

Exit mobile version