नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का जनप्रतिनिधिहरुले अध्ययन भ्रमणका लागि छुट्याएको बजेट रकमबाट असहायलाई खाद्यान्न वितरण गरेका छन् । वडाध्यक्ष प्रशान्त श्रेष्ठका अनुसार, अघिल्लो आर्थिक बर्षमा जनप्रतिनिधिहरु विभिन्न ठाउँमा अध्ययन भ्रमणका लागि जान विनियोजन गरिएको बजेट वडाभित्रका अपांगता भएका नागरिक र गरिबीको रेखामूनि रहेका परिवारका लागि खाद्यान्न वितरण गरिएको हो ।
आइतबार करिब एक सय परिवारलाई १२ किलो चामल सहितको खाद्यान्न वितरण गरिएको जानकारी दिंदै वडाध्यक्ष श्रेष्ठले भ्रमण जानु भन्दा गरिब, असहाय जनतालाई सहयोग गर्ने स्थानीय युवा नेता रवि पुनले दिएको सुझाव कार्यान्वयन गर्दै उक्त निर्णय गरिएको बताए । ‘हामी जनस्तरबाट आएका सुझावलाई पनि सकेसम्म ग्रहण गर्छौ’, यसअघि पनि विभिन्न सिर्जनात्मक कार्य गरी जनताको हितमा वडा अगाडि बढिरहेको जानकारी दिंदै वडाध्यक्ष श्रेष्ठले भने, ‘सिंगो बोर्ड र कर्मचारी एक ठाउँमा बसेर हामीले निर्विवाद कामहरु गरिरहेका छौं ।’
आइतबार अपांगता भएका एक महिला तथा गरिबीको रेखामूनि रहेका सय बढी परिवारलाई वडाध्यक्ष श्रेष्ठसँगै सदस्यहरु चन्द्रकला गुरुङ्ग, कल्पना नेपाली, नुर मोहम्मद खान र समिर खानले सहयोग वितरण गरेका हुन् ।