शनिबार राती रातीसोनारी गाउँपालिका वडा नं. ५ बिनौनामा दुई युवा माथि भएको सांघातिक आक्रमणमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी परेपछि प्रहरीले उक्त घटनामा संलग्ताको आरोपमा राप्तीसोनारी वडा नं. २ का वडाध्यक्ष सहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
शनिबार बेलुका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का सन्दिप विष्ट र बैजनाथ ७ का सुलभ मल्लमाथि एउटा समूहले धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते दुवै जनाको भारतको लखनउमा उपचार भैरहेको छ ।
बाँके प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले गम्भीर घाइते विष्ट र मल्लको स्वास्थ्यमा सुधार भैरहेको जानकारी पाएको बताएका छन् । ‘घटनामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छौं’, उनले भने ।
प्रहरीले दुई समूह बीचको पुरानो विवादको कारण सांघातिक आक्रमणको अनुमान गरेपनि औपचारिक रूपमा बताएको छैन । ‘अनुसन्धान पछि सबै कुरा खुल्नेछ’, प्रहरी प्रवक्ता डाँगीले भने ।
प्रहरीले राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि युवा संघले त्यसको प्रतिवाद गरेको छ । संघले घटनामा घाइतेहरूको स्वास्थ्य लाभको काम गर्दै दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न माग गर्दै रिस र बदलाको भावनामा निर्दोष फसाउन र ओलीको व्यक्तिगत तथा सामाजिक जीवन समाप्त पार्न खोजिएको आरोप लगाएको छ ।
युवा संघ नेपाल बाँकेका उपाध्यक्ष र रमेश मिजार, सचिव सुनिल रसाइलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना अध्यक्ष ओलीको तत्काल रिहाईको माग गरेको छ । संघले विज्ञप्तिमा निर्दोष व्यक्तिहरूको नाम घटनामा जोडेर अतिरञ्जित बनाउने र घटनालाई तोडमोड गरेर राजनीतिक रूप दिंदै समाजलाई द्वन्द्व तर्फ लैजान प्रयास भएको खण्डमा देशव्यापी कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
घटनालाई लिएर तरुण दल सम्बद्धले आइतबार कोहलपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् । आइतबार नै तरुण दल बाँके अध्यक्ष वीरेन्द्र बहादुर शाह र सचिव विनोद रिजालले विज्ञप्ति प्रकाशित गरी तरुण दलका राप्तीसोनारी गाउँपालिका सदस्य सन्दिप विष्ट र सुलभ मल्ल माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गर्दै कडा आन्दोलनमा चेतावनी दिएको छ ।