- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ । छिमेकी देशहरू मंकीपक्स भाइरसको संक्रमणको जोखिममा रहेकाले नेपाल पनि सतर्क रहनुपर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
- दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोल्ने तयारी रहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।
- सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आइतबार राति पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन् ।
- आर्थिक वर्ष ०८०/८१ मा कुल १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँकाे वस्तु आयातमा पेट्रोलियम पदार्थले १८.८७ प्रतिशत हिस्सा ओगटेको छ । गत आर्थिक वर्ष ३ खर्ब ५४ करोड ४० लाख रूपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।
- एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा सोमबार राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी आयोजना गरेको छ ।
- नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
- सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका-६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।
उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । - सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।