खेलाडी पलायन रोक्छौं : मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडी पलायन रोक्न आफु प्रयासरत रहेको बताएका छन् । प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले अन्तर्राष्ट्रिय खेल्ने खेलाडीहरूको रोजगारी, बीमा, उनीहरूका बालबच्चालाई शिक्षा लगायतको व्यवस्था गरी विदेश पलायन भैरहेका खेलाडीलाई नेपालमै रोक्ने प्रयास गरिरहेको बताए । उनले त्यसका लागि विभिन्न संघ, संस्थाहरूसँग प्रस्ताव गरेको र सकारात्मक प्रतिक्रिया पाइरहेको पत्रकार सम्मेलनमा बताएका थिए ।

खेलाडीहरूको भविष्य सुनिश्चित नहुँदा तथा खेल्ने वातावरण नहुँदा खेल क्षेत्रमा समस्या देखिएको भन्दै मन्त्री चौधरीले आफुले त्यसका लागि पहल गरिरहेको बताएका हुन् ।

‘१० हजारमा खेलाडीको १० लाखको बीमा हुने व्यवस्था गर्दैछौं’, मन्त्री चौधरीले भने ।

मन्त्री चौधरीले कम्तिमा सय खेलाडीको जिम्मेवारी प्याब्सन केन्द्रबाट लिने गरी छलफल भैरहेको बताए । उनले खेलाडीहरूलाई नाफा कमाइरहेका अन्य आर्थिक क्षेत्रहरूमा व्यवस्थापनको प्रयास भैरहेको जानकारी दिए । ‘पहिले दुरसञ्चार, वाणिज्य बैंक, विद्युत प्राधिकरण जस्ता संस्थाहरूले खेलाडीलाई रोजगारी दिन्थ्ये, उनीहरू त्यहीबाट प्रतिनिधित्व गरी खेल्थे’, उनले त्यो व्यवस्था हाल हटेको भन्दै पुनः त्यसका लागि छलफलमा रहेको बताउँदै भने । मन्त्री चौधरीले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई पुरस्कार दिन नसकेको उल्लेख समेत गरे । उनले नियमित लिग नहुँदा पनि खेलाडी पलायन भएको भन्दै नियमित खेल गतिविधिका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत गरे । मन्त्री चौधरीले खेलकुद सम्बन्धित समितिहरू प्रदेश अन्तर्गत रहेको स्पष्ट पारेका थिए ।

मन्त्री चौधरीले सबै स्थानीय तहमा प्रशिक्षक पठाउने निर्णय भएको जानकारी दिंदै त्यसका लागि यसअघि भएको सर्भे अनुसार जनशक्ति व्यवस्थापनका लागि एक महिनाभित्र अर्थमन्त्रालयमा प्रस्ताव गर्ने बताए ।

Exit mobile version