जिल्लामा लागुऔषधको समस्याले विकराल रूप लिंदै गर्दा बाँकेमा प्रहरी कारवाही पनि सोही अनुरूप बढेको छ । लागुऔषधको कुलत विरुद्ध प्रहरीदेखि स्थानीय तहले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । कुलतमा फसेकालाई सुधार प्रहरी देखि सामाजिक संस्थाले सुधारात्मक, उपचारात्मक तथा पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सबै क्षेत्रको अथक प्रयासका बावजुट लागुऔषधको कारोबार अपेक्षित रूपमा नियन्त्रणमा आउन नसकेको प्रहरीको मुद्दाको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध सम्बन्धी पक्राउ र बरामदका घटना नियमित जस्तै छन् ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, गत आ.व. २०८०÷०८१ मा बाँकेमा १ सय ७७ वटा मुद्दा लागुऔषध सम्बन्धी दर्ता भएका छन् । उक्त मुद्दाहरूमा प्रहरीले २ सय ४९ मानिसहरू पक्राउ परेका छन् ।
बाँके प्रहरीको तथ्यांक अनुसार युवाहरू बढी लागुऔषधको कुलतमा फँसेका छन् । सबैभन्दा बढी १६ देखि २५ बर्ष उमेर समूहका युवाहरू लागुऔषध सेवन तथा बिक्री वितरणमा संलग्न छन् ।
गत आ.व. २०८०÷०८१ मा ब्राउन सुगर ९ सय १५.८१५ ग्राम ब्राउन सुगर, १६ किलो १२३ ग्राम चरेश, ८ किलो ८ सय ६८ ग्राम गाँजा, लागुऔषध ट्याबलेट ८ सय १२ वटा, कोरेक्स ३३ लिटर, अफिम १५ किलो १३३ ग्राम बरामद गरेको छ ।
भारत सँग सीमा जोडिएका कारण पनि बाँकेमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढी रहेको पाइन्छ । प्रहरीले खुला सीमाना नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौति रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाका बाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
नेपालगन्ज नाका हुँदै लागु औषध अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम भित्रिने गरेको छ । औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयत्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रूपमा रहेको प्रहरी अधिकारी बताउँछन् ।
लागुऔषध विरुद्ध क्रियाशिल संस्था चेन्ज टिमका प्रविण विसीले राज्यको प्राथमिकतामा लागु औषध दुव्र्यसन नपरेको बताउँछन् । ‘राज्यले लागु औषध प्रयोगकर्ताहरूको उपचारमा लगानी गर्नु जरुरी छ,’ विसीले दैनिक नेपालगन्जसँग भने, ‘लागु औषध प्रयोगकर्ताहरूलाई आयमूलक सीप प्रदान गर्नु पनि जरुरी छ ।’
हाल बाँके जिल्लामा लागु औषध दुव्र्यसनमा परेकाहरूको उपचार तथा पुनःस्थापनामा सहयोग गर्नका लागि १७ वटा पुनःस्थापना केन्द्रहरू सन्चालनमा छन् । जसमध्ये २ वटा महिला लागु औषध प्रयोगकर्ता लक्षित हुन् । बाँके जिल्लामा रहेका लागु औषध पुनःस्थापना केन्द्रमा हाल करिब ५ सयले उपचार सेवा लिइरहेका बताइन्छ ।