शेयर बजारबारे बढ्दो आकर्षणलाई सम्बोधन गर्दै नेपालगन्जमा ‘शेयर सचेतना केन्द्र’ सञ्चालनमा ल्याइएको छ ।
भरोसा म्यानेजमेन्ट कन्सल्टेन्सीले शेयर बजारबारे आम जनसाधारणलाई जानकारी गराउने उद्देश्यले आइतबारदेखि ‘भरोसा शेयर सचेतना केन्द्र’ सञ्चालनमा ल्याएको हो । ‘यहाँ शेयर बजारका हरेक सूचना उपलब्ध हुनेछन्, जुन कुराले लगानीकर्तालाई सचेत र सुसूचित गराउनेछ’, भरोसाका अध्यक्ष तेज बहादुर रावलले दैनिक नेपालगन्जसँग भने, ‘शेयर बजारको प्रत्यक्ष कारोबारका लागि पनि आवश्यक सहजीकरण गरिनेछ ।’
यसखालको सचेतनाले लगानीकर्तालाई ठूलो सहयोग पुग्ने शेयर बजारका विश्लेषक विकास भट्टराईको बुझाई छ । ‘भरोसाले गरेको यो सुरुवातबाट बाँकेमा बढ्दो शेयर बजारप्रतिको आकर्षणलाई टिकाइ राख्न महत्वपूर्ण भूमिका खेल्छ’, आफैपनि बर्षौदेखि शेयर बजारमा कारोबार गरिरहेका विश्लेषक भट्टराईले दैनिक नेपालगन्जसँग भने, ‘हचुवाका भरमा लगानी गर्ने र डुब्ने नियतिले शेयर बजार बारे नै गलत प्रचार हुने हुँदा यसखालका सचेतना केन्द्रले लगानीकर्तालाई महत्वपूर्ण जानकारी उपलब्ध गराउने छ ।’
पहिलो दिन आइतबार नेप्से राताम्मे भयो । ‘यो निराश हुने अवस्था होइन, लगानीकर्ताका लागि अवसर हो’, शेयर बजारका विश्लेषक भट्टराईले भने, ‘यत्ति कुरा नबुझेर लगानीकर्तामा निराशा छायो भने नोक्सानी निश्चित हुन्छ ।’ उनका अनुसार, सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार पनि बजारले धेरै ठूलो फड्को मार्ने देखिन्न ।