जनता समाजवादी पार्टी नेपाल सम्बद्ध महिलाहरूको संगठन समाजवादी महिला संघ नेपाल बाँकेले मंगलबार तिज उत्सवको आयोजना गरेको छ । समाजवादी महिला संघ बाँकेले लुम्बिनी प्रदेश सचिव सुशिल शर्मा पौडेलको अध्यक्षतामा आयोजना गरेको तिज उत्सवमा प्रमुख अतिथि पार्टी केन्द्रीय सचिव कमरुद्दिन राईले तिजलाई महिलाहरूको सशक्तिकरणसँग जोडेर पर्व मनाउन आग्रह गरे ।
नेपालगन्ज उपमहानगर–पालिकाका उपप्रमुख समेत रहेका राईले संगठनले पछिल्ला दिनमा महिलाहरूलाई दिएको अधिकार र समानताबारे पनि धारणा राखेका थिए । विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य समेत रहेकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले समाजवादी महिला संघलाई राजनीतिक रूपमा सचेत महिलाहरूको सशक्त संगठनका रूपमा स्थापित गराउने प्रण गरिएको बताइन् ।
त्यसका लागि राजनीतिक रूपमा सचेतनासँगै सशक्तिकरण आवश्यक रहेको प्रदेशसभा सदस्य काफ्लेको जोड थियो । कार्यक्रममा जसपा लुम्बिनीका सचिव राजनराना मगर, अनेमसंघ जिल्ला अध्यक्ष मिना ढकाल, साहित्यकार किरण आचार्य, जसपा केन्द्रीय सदस्य इस्तियाक अहमद शाह लगायतले आफ्ना धारणा राखेका थिए ।
त्यसक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू र तिज गीत नृत्य गरिएको आयोजकले जनाएको छ ।