देशमा आजः ८ बजे ८ खबर

१. सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् ।

२. विभिन्न १७ मुलुकका लागि राजदूत सिफारिस गर्दा समावेशी र समानुपातिक नभएकोमा परराष्ट्रमन्त्री आरजू राणा देउवाले संसदीय समितिमा माफी मागेकी छन् ।

३. सरकारले यो वर्ष प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि तयारी थालेको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना तथा सञ्चालन कार्यविधि २०७८ अनुसार अनुदान सहयोग वितरण मापदण्ड २०८१ बमोजिम पुरस्कार र प्रोत्साहन वितरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयारी गरेको हो ।

४. नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पथलैया नजिकै रहेको दुदरा खोलामा निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र रहेकाले तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

५. कोशी प्रदेश सरकारले ऐन बनाएरै प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशमा चार वर्षअघि मन्त्रिपरिषद्बाट नियमावली बनाएर पहिलोपल्ट प्रतिष्ठान गठन गरिएको थियो ।

६. गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् ।

७. नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन दुई पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सो सडकमा रहेका थप बाँकी दुई पुल कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको इन्जिनियर कृष्ण आचार्यले बताए ।

८. पदयात्रा (ट्रेकिङ) व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन् । टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका थिए ।

Exit mobile version