हरितालिका तीज ढोकैमा आएको छ । तीजको रौनकले गाउँदेखि बजारसम्म एक तमासको बनेको छ । घरघरमा तीजका भाका घन्किएका छन् । रेडियो, टिभीमा अरु गीतको स्थान तीज गीतले लिएका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकहरू तीजमय भएका छन् । कसैले दर खाएका, कसैले नाचेका त कोही माइत जान लागेका फोटो र भिडियोहरू छ्याप्छ्याप्ती राखेका छन् । पश्चिम पहाड र त्यसआसपासका गाउँघर र बजार क्षेत्रका चोकहरूमा तीज विशेष नाचगान चलिरहेका छन् । घरघरमा दर खुवाउन आफन्त चेलीहरू जम्मा गर्ने क्रम बढेको छ । चेलीहरूलाई कसकोमा कहिले जाने, खाने र नाच्ने भ्याइनभ्याइ छ ।
धार्मिक रुपमा पार्वतीले शिवलाई पतिका रुपमा पाउन निरहार व्रत गरेपछि पति पाएको कथामा आधारित पर्व हो तीज । यस अर्थमा तीज महिला प्रेमले मान्यता र सफलता पाएको दिन हो । त्यही आस्थामा अहिले पनि हिन्दू अविवाहित महिला राम्रो पति पाउन शिवको पूजा आरधना गर्छन् । विवाहित पतिको दीर्घायूको कामना गर्छन् । तीजको धार्मिक पक्ष यत्ति भएपनि सांस्कृतिक र सामाजिक पक्ष निकै फराकिलो छ । तीज स्वतन्त्रता, मनोरञ्जन र अधिकारको उपयोग गर्न पाउने ठूलो अवसर हो । मीठो खाने, राम्रो लगाउने, माइती तथा आफन्त भेट्ने र सुख दुःख साट्ने रमाइलो पर्व पनि हो । अरुबेला जन्मघरमा जान नपाउने परनिर्भर महिलालाई तीज महिलाको लागि माइतीसँग भेट गराउने अवसर हो । तीज वर्षभरि भन्न नसकेका कुरा गीत बनाएर गाउन सक्ने अधिकारमुखी पर्व हो । हिंसा, विभेद, चेतना, विद्रोह, अधिकार र सुख तथा दुखका पल एकसाथ उठाउन पाउने स्वतन्त्रताको पर्व पनि हो । यही स्वतन्त्रताका कारण गीतमार्फत तत्कालीन अवस्था, परिवेश, सुख, दुःख, स्वतन्त्रता, अधिकार र सशक्तीकरणको कुरा बाहिर आइरहेका पनि छन् ।
तीज मुलतः महिला प्रधान पर्व हो । लोकलयमा आधारित तीज गीत, तिनका भाका र नाच हाम्रा संस्कृति हुन् । तीजको यति ठूलो सांस्कृतिक र सामाजिक पक्ष हुँदाहँुदै पनि तीज अहिले विकृत बन्दै गएको छ । काठमाडौंँ आसपासका केही कलाकारले तीजको मौलिकता बिर्सदा त्यसको असर समाजमा देखिन थालेको छ । सस्तो लोकप्रियता र मनोरञ्जनका लागि उनीहरूले झ्याउरे लयमा मायाप्रितिका गीत मात्रै पस्केका छन् । अधिकांश तीज गीतमा तीजको भाका र लय छैन । गीतले समय र परिवर्तनको स्वर बोलेका छैनन् । उनीहरूले तीज गीतलाई उत्ताउला रत्यौलीका शब्द र लयमा ढालिदिएका छन् । त्यसमा चेतनाको छनक छैन । बरु भद्धा र अस्वभाविक माया प्रेममा समर्पित भएका छन् । उत्ताउला र निकै हचुवा पाराका छन् । नृत्य र पहिरन उस्तै कामुक र अश्लील छन् ।
वास्तवमै महिलाप्रधान पर्व तीज अहिले चेपुवामा परेको छ । एकातिर तीजको मौलिकतामाथि आक्रमण भएको छ अर्कोतिर तीज विकृत बन्दै गयो भन्दै त्यसमै रमाउने समूह सक्रिय भएको छ । लाग्छ, ती तीज गीत होइनन् रत्यौली हुन् । रत्यौली पनि नराम्रो होइन हाम्रो संस्कृति नै हो । तर, कतिबेला रत्यौली गीत गाउने र नाच्ने, कतिबेला तीज कलाकारले छुट्याउनुपर्छ । व्यवसायिक कलाकारले व्यवसाय गर्ने भन्दैमा कला र संस्कृतिको सिमा नाघ्न् गलत हो । किनकी कला र संस्कृति देशको सम्पति हो । कलाकार गहना हुन् । देशको सम्पति जोगाउन राज्य र गहनाको शान राख्न कलाकारले ध्यान दिनैपर्छ । नत्र आउदो पुस्ताले तीज गीत भनेर केलाई चिन्ने ? तीज नाच भनेर केलाई हेर्ने प्रश्न उब्जीएको छ ।
यद्यपि, मोफसलका थुप्रै महिला भने व्यावसायिक कलाकारभन्दा भिन्न छन् । जसले तीज गीतमार्फत निरन्तर कुरीति कुसंस्कारको विरोध गर्दै चेतना प्रवाह गरेका छन् । सङ्घसस्थाहरूले आयोजना गरेका तीजका औपचारिक कार्यक्रममा स्थानीय कलाकार पुगेका छन् र चेतनाप्रवाह गर्ने र रमाउने तीज गीत पस्किरहेका छन् । तीज कति दिन मनाउने र कसरी मनाउने पछिल्ला वर्षहरूमा यसको बहस बढ्तै हुने गरेको छ । तीज तिथि र व्रत एक दिन हुने भएकाले कतिपयले तीज त्यसैदिन मात्रै मनाउनुपर्ने तर्क राख्छन् । कसैले पहिले पहिले एकै दिन मनाउने गरेको तर अहिले महिनौं मनाएर तीजलाई विकृत बनाएको दाबी गर्छन् । तीजको सांस्कृतिक पक्षबारे जानकार हुनेले तीज एक दिन मनाउने गरेको वा एक दिनमात्रै मनाउनु पर्छ भन्ने तर्क राख्नु गलत हो । तीजलाई मौलिक र सरल बनाउनुपर्छ भन्ने विचार चाहिँ सही हो ।
लोकगीतको बढ्ता चल्ती रहेको पश्चिम पहाडमा उहिले पनि साउने संक्रान्तीबाटै तीजको रौनक सुरु हुन्थ्यो । महिलाहरू कहिले कसको आँगन कहिले कसको आँगनमा तीज गीत आयोजना गर्थे । दाजुभाइहरूले मादल र खैंजडी बजाएर सघाउँथे । कोही दिदीबैनीसंँगै नाच्ने र गाउँथे पनि । आफ्ना सुखदुःख र भोगाइलाई गीत बनाउथे । विभेद, अभावसंँगै खुसी र उद्वेगलाई गीतमार्फत् पोख्थे । तीजमा छोरीचेली ननाचेको आँगन अशुभ हुन्छ भन्ने मान्यता थियो । त्यसैले पालैपालो सबैको घरमा तीज गाइन्थ्यो । नाच्न गाउन भेला भएकालाई कांँक्रा, अमिला, अचार, चिया, हलुवा, खीर खुवाउने चलन थियो । नागपञ्चमी, गुरु पूर्णिमा, कृष्णाअष्टमी, तीज, ऋषि पञ्चमीलगायतका दिन भने ठूला चोक, चौर र चौतारोमा तीज कार्यक्रम आयोजना हुन्थे । तीज नजिकिएपछि धेरै छोरीबुहारी माइत मावल जान्थे । माइत जाने बुहारीलाई पनि घरमा एक दिन दर अर्थात मीठो पकवान खुवाएर पठाइन्थ्यो । माइत आउन नपाउने चेलीबेटीलाई दरका सामग्री घरमै पनि पठाइन्थ्यो ।
समय फेरिदै जाँदा तीज मनाउने शैली फेरिएको छ । उहिले गाउँघरमा गाउने महिला अहिले शहर बजारमा आएका छन् । मान्छे जहाँ जान्छ त्यससँगै सस्कार र संस्कृति पनि बोकेर आउछ । शहर बजारमा नाच्न आँगन छैनन् । चौतारो छैनन् । यस्तोमा तीज मनाउन होटल र पार्टी प्यालेसमा जानुलाई विकृत र असभ्य मान्नु हुँदैन । कामकाजी महिलाले पाहुनापाछा बोलाएर घरमा दर पकाएर खुवाउने समय पाउदैनन् त होटलमा लगेर खुवाउछन् । यस्तो सुविधा उपयोगलाई छाडा भन्न मिल्दैन । विहे, पूजा, व्रतबन्ध, जन्मदिन होटल र पार्टी प्यालेसमा गर्न हुन्छ भने तीज मनाउन नहुने कुनै अर्थपूर्ण तर्क छ र ? कामकाजी महिला काम छोडेर माइतीघर जाने अवस्था छैन । पहिले जन्मका आधारमा भेटिनेहरू अहिले कर्मका आधारमा भेटिन्छौंँ । उनीहरूबीच तीज मनाउनु दर खानुलाई विकृतिको पराकाष्टाका रुपमा चर्चा गरिनुको अर्थ छैन । तीजका दरमा महिलाले के खाए र लगाए भन्ने विषय धेरै आलोचनाको विषय बनेको छ । स्वभाविक हो उत्तेजक लुगा लगाउनु र मादक पदार्थ खानु महिला पुरुष कसैले हुँदैन । विडम्वना कुन पुरुषले के खाजा खायो ? कति हजारको जुत्ता किन्यो, मोवाइल किन्यो, उनीहरूले चाडबाडमा के के खान्छन् ? के लाउछन् ? यसको चर्चा कहिल्यै हँुदैन । तर, महिला तीजमा कुन कुन ठाउँमा दर खान गए ? केके खाए ? कसरी खाए ? यसलाई निकै बहस गरिन्छ । मानाँैं उनीहरू अपराधी हुन् । त्यो संस्कृति बचाउनकालागि गरिएको बहस हो कि महिलालाई आलोचना गर्न मननीय छ ।
तीज गीतको कुरा गरांै । समय र परिवेशअनुसार फरक भाका र लयमा रचिएका तीज गीतले त्यससमयको इतिहास बोलेका हुन्छन् । हजुरआमाका पाला भक्तियुग थियो । त्यतिबेला ‘कहामा जान्छौं रानीचरी बगाल बरीलै भगवान भेटन’ भनेर भगवानप्रतिको भत्तिगीतm गाइन्थ्यो । आमाका पालामा सासु बुहारीबीचको द्वन्द्व, पतिको थिचोमिचो र छोराछोरीबीचको विभेद विरुद्ध तीज गीत बनाइयो । ‘स्वामी मुख हेरुँ भने खुन खाएका बाघ झैं सासु मुख हेरुँ भने पोल्ने आगो झैं’ त्यही थिचोमिचोको गीत थियो । दिदीभाउजुले पनि तीज गीतबाट आफूमाथिका अन्याय र अत्याचारका कुरा तीज गीतमार्फत बाहिर ल्याए । छोरी भएकै कारण सानैमा विहे गरेर जानुपर्ने, बाबुको अंश नपाइने, पढ्न नपाइने कुरादेखि विहे गरेर गएको घरमा समेत आफूले माया नपाएका कुरा गीत बनाए र गाए । पञ्चायती शासन, छोराछोरीको विभेद, दाइजो, बहुविवाह, बालविवाह लगायतको विरोधमा गीत गाए । ‘अन्याय र अत्याचार हिंसा हँुदा बोलन, लागौं अब पञ्चायती शाशन मासन’ पञ्चायती शासनविरुद्ध दिदी भाउजुहरूले यिनी गीत गाएकै थिए । अरु बेला ठाडो शिर लगाएर हेर्न नसक्ने महिला तीज गीतमा अन्याय र अत्याचारको विरोध गर्दै गला फुलाएर गाउने र छाती फुलाएर छमछमी नाचेकै थिए । राष्ट्रसेवक नेताले बोल्न नसक्ने, समाज सुधारकले उठाउन नसक्ने विरोध र चेतनाका कुरा बस्तीबस्तीका महिलाले उठाएका थिए ।
कुनै समय थियो महिलाहरूलाई आफूमाथिको अन्याय, अत्याचार र विभेदविरुद्ध बोल्न वन्देज थियो । त्यसैले हाम्रा आमा, हजुरआमाहरू आफूमाथिको अन्याय, विभेद र थिचोमिचोलाई गीत बनाएर विरोध गर्थे । अहिले त्यस्तो छैन । आफूमाथि भेदभाव भएको कुरा तत्काल भन्न र प्रतिकार गर्न सकिन्छ । त्यसैले दुःखभन्दा रमाइला कुरा अहिले तीज गीत बनाइएका छन् । उपलब्धिहरू गाइएका छन् । यो स्वभाविक हो । कुनै पनि चाडपर्व निरपेक्ष हुँदैनन् समय सापेक्ष हुन्छन् । समयसँगै तिनलाई मनाउने तरिका फेरिन्छन् । यससंगै तीज फेरिएको हो । दशैंँ तिहार, फागु, माघी, लोसार सबै पर्व मनाउने तरिका फेरिएका छन् । चाडपर्व र संस्कारलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै लैजान आवश्यक छ । यसले चाडपर्व र संस्कार समृद्ध र सशक्त बन्छन् । चाडपर्व र सस्कारको मौलिकता जोगाउन पर्वलाई मौलिक रुपले मनाऔंँ । यसको धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष मर्न नदिऔंँ । यो बहसको विषय हुनसक्छ । चाडपर्वलाई बोझिलो नबनाऔंँ सरल र सहज बनाऔंँ । सबै अट्ने गरी र मनाउन सक्ने गरी मनाऔंँ । यस अर्थमा तीजको बहस गरौं । तर, महिलाले रङ्गीचङ्गी लुगा लगाए, खुसी मनाए, धेरै दिन दर खाए, होटल रेष्टुराँमा गए भन्ने जस्ता बेतुकका बहस नगरौंँ । महिलाप्रधान पर्वलाई सबैले गौरव गरेर मनाऔंँ ।