जामा मस्जिदमा निर्वाचन अनिश्चित

लामो समयदेखि विवादमा रहेको नेपालगन्ज स्थित दारुल उलुम फैसुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिको साधारणसभा हठात् रोकिएको छ । आज शनिबार साधारणसभाका लागि यसअघि नै मिति तय गरिएको थियो । अघिल्लो दिन शुक्रबार मात्रै तदर्थ समितिका संयोजक मो. अयुब सिद्दिकीले अडिट पुरा नभएको कारण जनाउँदै असोज ५ गते साधारणसभा सारिएको सूचना सार्वजनिक गरेका हुन् ।

‘जामा मस्जिद जस्तो पवित्र धार्मिक स्थलमा सञ्चालक समिति गठन गर्न आखिर के हुँदैछ ?’, मुस्लिम अगुवा महिला, लेखक साहिद शाह सामाजिक सञ्जाल मार्फत प्रश्न खडा गर्दै भन्छिन्, ‘जामा मस्जिदलाई राजनीतिको अखाडा बनाउन खोजिएको हो ?’

हठात् रोकिएको मस्जिदको साधारणसभालाई लिएर सञ्चारकर्मी अनिष शाहले प्रशासनलाई दोष दिएका छन् । उनले प्रशासनिक हस्तक्षेपमा भ्रष्ट सञ्चालक समिति विघटन गरी तदर्थ समिति बनाइएपछि पनि बिना अडिट जिम्मेवारी लिएको भन्दै तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

साधारणसभाले निर्वाचनको मिति तय गर्ने भएकाले साधारणसभा नै नहुँदा निर्वाचन अनिश्चित भएपछि मुस्लिम समुदायमा जामा मस्जिदको सवाल गम्भीर बहसका रूपमा अगाडि बढेको छ ।

Exit mobile version