देशमा आजः ८ बजे ८ खबर

  1. सरकारसँग कोरोना बिमाको रकम माग गर्दै बिमा कम्पनीहरुले सर्वोच्च अदालतमा रिट हालेका छन् । निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेको हो ।
  2. गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको संख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।
  3. मुख्य सचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा मुख्य सचिव अर्यालले यस्तो बताएका हुन् ।
  4. निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्यालसमक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
  5. जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका श्रीमान्–श्रीमतीको शव फेला परेको छ । ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको जाजरकोट प्रहरीका डीएसपी पुरुषोत्तम पाण्डेले बताए ।
  6. नेपाल प्रहरीले मातहतका कर्मचारीहरुलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना राजनीतिकलगायत विभिन्न शक्ति केन्द्रसँग भेटघाट गर्न रोक लगाएको छ ।
  7. भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चाडपर्व अगाडि नै सडकका खाल्डा पुर्न सरोकारवालालाई निर्देशन दिएका छन् । आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा मन्त्रालयमा आयोजित सरोकारवालाबीचको छलफलमा उनले चाडपर्व सुरु हुनु अघि नै सडकका खाल्डाखुल्डी तत्काल पुरिसक्न निर्देशन दिए ।
  8. गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए ।
Exit mobile version