देशमा आजः ८ बजे ८ खबर

  1. रुस–युक्रेन युद्धमा थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भई युद्धमा मारिने नेपालीको संख्या ४३ पुगेको छ ।
  2. रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको भ्याटको दश प्रतिशत रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत फिर्ता हुने जनाएको छ ।
  3. प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकनमा जाने जनाएका छन् ।
  4. कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउने तयारी भएको छ । कर्मचारी सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा सरकारले रोक लगाउन लागेको हो ।
  5. देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । सोमबार महासंघको सचिवालय टेकुमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा ढकालले आर्थिक सुधारका लागि ठोस पहलहरु भएको बताएका हुन् ।
  6. किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार नै नबसी रिहाइ भएका छन् । अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।
  7. सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ । उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।
  8. राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
Exit mobile version