राप्तीको सिधनियाघाट स्थित नदी तटमा बनाइने भनिएको ‘बैकुण्ठधाम’ निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाबाट पर्याप्त सहयोगको प्रतिबद्धता दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलबार आयोजित एउटा कार्यक्रममा भने, ‘मानिसको सम्मानपूर्वक सदगतिका निम्ति बनाउन लागिएको बैकुण्ठधाम सामूहिक प्रयासको एउटा सार्वजनिक महत्वपूर्ण संरचना हो ।’
‘त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता आवश्यक छ’, नगर प्रमुख विष्टले सिंगो सहरको नागरिक समाजका अगुवा प्रतिनिधिहरूको सामूहिक पहल कदमीमा भैरहेकोले सफल हुनेमा विश्वास गर्दै भने, ‘यो परियोजना सफल हुन सकेन भने मानिस सामूहिक स्वार्थमा अग्रसर हुन सक्दैन ।’ उनले सरकारी स्तरबाट हुने साथ र सहयोगको सम्भावनालाई सँगै लिएर जनस्तरबाटै परियोजना सफल बनाउन सुझाव दिए ।
‘नेपालगन्ज उपमहानगरले सम्मानजनक सहभागिता जनाउने छ’, नगर प्रमुख विष्टले भने । त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाका बहुसंख्यक वडाध्यक्षहरूको सहभागितामा बैकुण्ठधाम निर्माणार्थ गठित मूल समितिले छलफलको आयोजना पनि गरेको थियो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ राप्ती नदी तटमा बैकुण्ठधाम सिधनियाघाट निर्माणार्थ आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ आयोजना हुँदैछ ।
त्यसका लागि डा. सुरेश कुमार कनोडियाको नेतृत्वमा तयारी तथा आयोजना मूल समिति, सचिवालय र ८० बढी उपसमितिहरू गठन गरिएका छन् । मंगलबार सचिवालय बैठकमा सहभागी नगर प्रमुख विष्टसँग परियोजनाका विविध पक्षहरू बारे चर्चा गरिएका थिए । समितिका संयोजक डा. कनोडियाले बैठकमा आयोजनाका विविध पक्षहरूबारे अभिमूखिकरण गर्दै बाँकेका सबै हिन्दु सम्प्रदाय बैकुण्ठधामका लागि एक ढिक्का हुनेमा विश्वस्त रहेको बताए । बैठकमा समितिका महासचिव श्रीराम सिग्देलले परियोजनादेखि महोत्सवसम्म तयारीका विविध प्रगतिबारे जानकारी गराएका थिए ।
मूल समितिका सदस्य समेत रहेका डा. बद्री चापागाईंले बैकुण्ठधामको परिकल्पनालाई मूर्त रूप दिन बनाइएको गुरुयोजनाबारे प्रकाश पारे । ‘यसलाई आउने पुस्ताले सम्झना मात्रै होइन सम्मान गर्न सक्ने परियोजनाका रूपमा परिकल्पना गरेर अगाडि बढ्नु पर्ने जिम्मेवारी छ’, डा. चापागाईले भने ।
बैठकमा मधुसुदन शर्मा रिजाल, हेमन्त कर्माचार्य, सशि स्वाँर लगायतलाई मूल आयोजक समितिको सहसंयोजक तथा विभिन्न उपसमितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको महासचिव सिग्देलले जानकारी दिए ।