बिहीबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । स्वर्गीय वरिष्ठ पत्रकार पन्नालाल गुप्तको ९६औं जन्मजयन्तीमा अवसर पारेर प्रेस यूनियन बाँकेले आयोजना गरेको लोकतन्त्रको सुदृढिकरणमा पत्रकारको भूमिका विषयक विचार गोष्ठीका वक्ताहरूले लोकतन्त्रको महत्वबारे चर्चा गरेका हुन् ।
प्रेस यूनियनका संस्थापक समेत रहेका स्वर्गीय गुप्तबारेमा चर्चा गर्दै वरिष्ठ पत्रकार नीरज गौतमले लोकतन्त्रमा कसैको पनि हार नहुने बताउँदै भने, ‘स्वर्गीय पन्नालाल चाचाले पत्रकारीकताको माध्यमबाट प्रजातन्तत्र तथा लोकतन्त्रमा खेलेको भूमिका बिर्सन सकिदैन, अर्को कुरा लोकतन्त्रमा सबैले अभ्यास गर्न पाउँछन्, लोकतन्त्रको विकल्प छैन, विकल्प खोज्ने परेको नराकात्मक वा लोकतन्त्र नबुझेकाहरूले मात्रै हो ।’
पछिल्लो समय नेपाली पत्रकारिकतामा आलोचना देखिन थालेको बताउँदै पत्रकार गौतमले भने, ‘नेपालको पत्रकारिता अलि आलोचित भएको देखिन्छ, नरुचाइएको पत्रकारिता गरियो कि भन्ने छ ।’
यसैगरी वरिष्ठ साहित्यकार सनत कुमार रेग्मीले लोकतन्त्रको रक्षा गर्ने काम पत्रकारको हुने बताउँदै भने, ‘सत्ता जहिले पनि निरंकुशता हाबी हुने गर्दछ, त्यस अवस्थामा पत्रकारको भूमिका अहम हुने गर्दछ ।’
वरिष्ठ अधिवक्ता समेत रहेका गुप्तका छोरा विजय गुप्ताले भने, ‘प्रजातन्त्रको पुर्नस्थापनामा चाचाले आफ्नो जिवन नै अर्पण गरेको सन्दर्भ छ यस अवस्थामा लोकतन्त्रको विकल्प भनेको अझै राम्रो बनाउने ,प्रणालीमा सुधार ल्याउने हो, कसैले देशलाई गलत बाटोमा लैजान्छु भनेर कल्पना नगरे पनि हुन्छ ।’
यसैगरी वरिष्ठ पत्रकार शिव डोटेलले पछिल्लो समय पत्रकारलाई हेरिने दृष्टिकोणमा परिर्वतन भएको बारे चिन्ता गरे । उनले अबको पत्रकारिता शासकीय स्वरूप, संघियता लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले पश्चिम क्षेत्रमा स्वर्गीय गुप्तको योगदानलाई सबैले आफ्नो तर्फबाट अपनत्व ग्रहण गर्नु पर्ने बताउँदै भने, ‘स्वर्गीय पन्नालाल गुप्तले पत्रकारिता जगतमा अतुलनिय सेवा गरेको हुँदा उहाँसँग जोडिएका विषयहरूलाई सबैले अपनत्व ग्रहण गर्नु पर्दछ ।’
यसैगरी पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीले सामाजिक संजालमा आएका सबै सन्देशहरू समाचार नहुने बताउँदै भने, ‘सामाजिक संजालमा आएका खबर सबै समाचार हुन सक्दैनन्, प्रविधिलाई अपनाउँदै त्यसमा ध्यानदिनु पर्दछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, प्रेस यूनियन बाँकेका पूर्व अध्यक्ष जयनारायाण शाह, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय लगायतले बोलेका थिए ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमल खत्री र सञ्चालन सचिव भिष्म लोधले गरेका थिए ।