‘गत हप्ता निकै असहज भयो’, नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख रेग्मीले भने, ‘पछिल्ला दिन रक्तदान भएको दिन सहज आपूर्ति हुन सक्छ अन्य दिन मागको सम्बोधन गर्न सकेका छैनौं ।’
पश्चिम नेपालबाटै उपचारका लागि बिरामी आउने, बाँकेमात्रै नभई कुनै दुर्घटना भैहाले पश्चिमका अन्य जिल्लाबाट पनि रेफर भई बिरामी आउने बाँकेमा रगतको स्कट भने शुन्य प्रायः रहने गरेको छ । ‘विभिन्न समूहको गरी ४०÷५० पिन्ट भन्दा बढी रगत स्टकमा छैन’, रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी भन्छन्, ‘माग गरेको रगत समूह नहुँदा बिरामीका आफन्तलाई नै रक्तदान गर भन्नु पर्ने अवस्था छ ।’
रगत आवश्यक पर्ने बिरामीका आफन्तले पनि हत्तपत्त रक्तदान गर्न खोज्दैनन् । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने आवस्था छैन । त्यसले गर्दा सामाजिक सञ्जालमा पछिल्ला दिन रगत समूह उल्लेख गरेर नै रक्तदानको आव्हान गरिएको हो ।
त्रैमासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके गत बुधबार रक्त सञ्चार केन्द्र पुग्दा रगतको निकै अभाव रहेको पाएका बताउँछन् ।
नियमित रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुने गरेको रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी बताउँछन् । ‘रगतको माग बढ्दो छ, तर रक्तदाता त्यस अनुसार नबढ्दा समस्या हुने गरेको हो’, उनी भन्छन् ।
‘कुनै जोखिम आइहाले स्कट गर्ने भन्दा पनि दैनिक रगतको मागको आपूर्ति गर्न नै समस्या भएको छ’, रक्त सञ्चार केन्द्र प्रमुख रेग्मी भन्छन्, ‘कुनै समूहको रगत अभाव हुँदा नियमित रक्तदाताको तथ्यांक हेरेर समेत रक्तदानका लागि बोलाउनु गरेका छौं ।’
रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
थालेसिमिया, सिकलसेलका बिरामीलाई नियमितरुपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । ठूलो घटना वा दुर्घटना भएको अवस्थामा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको केन्द्रका प्रमुख रेग्मीको भनाइ छ ।
केही संस्थाहरुले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने केन्द्र प्रमुख रेग्मी बताउँछन् । मानव धर्म सेवा समाज, खजुराको धौलागिरी विद्यालय, संविधान दिवसमा कर्मचारीहरु, ४ गते लायन्स क्बले रक्तदान गर्न लागेको उनले जानकारी दिए ।
गत आ.व.मा १९ हजार पिन्ट रगत वितरण
नेपालगन्ज स्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । खजुरा र कोहलपुरमा छुट्टै वितरण केन्द्र स्थापित भएपनि नेपालगन्जबाटै त्यहाँ रगतको आपूर्ति हुने गरेको छ ।
गत आर्थिक बर्ष २०८०÷८१ मा १९ हजार ९ सय ९३ पिन्ट रगत सप्लाई गरिएको प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छन् । उक्त आ.व.मा १३ हजार भन्दा बढी रगत संकलन भएको थियो । ‘संकलित रगतबाट त्यसका आवश्यक पर्ने विभिन्न कम्पोनेन्ट छुट्याएर समेत वितरण हुने भएकाले संकलन भन्दा वितरण बढी हुने गरेको छ’, रेग्मीले भने ।
रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा १६ हजार सात सय ८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९÷८० मा १८ हजार सात
सय ५७ पिन्ट रगत वितरण गरेको थियो ।