देशमा आजः ८ बजे ८ खबर

  1. शुक्रबार काठमाडौंको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
  2. मध्यपहाडी लोकमार्गमा सरकारी जिप पल्टिँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा सहित तीन जनाको मृत्यु भएको छ ।
  3. आमरण अनशनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग समयमै निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
  4. नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच कार्यवाहक अध्यक्ष रमेश विष्टले १२ असोजमा निर्वाचन गर्ने गरी नयाँ तालिका ल्याउन निर्वाचन समितिलाई पत्राचार गरिएको बताए ।
  5. कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । आन्तरिक किचलोका कारण भागबन्डा गर्न नसकेको नेपाली कांग्रेस डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर सरकारमा सहभागी भएको हो ।
  6. महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजले विदुतको अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । मिलमा विद्युत् पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरुण भण्डारीले बताए ।
  7. गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरमा नसर्ने रोगहरुको स्क्रिनिङ गर्ने भएको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलले स्थानीय तहसँगको सहकार्यमा रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरलगायत नसर्ने रोगको निदानका लागि स्क्रिनिङ गरिने बताए ।
  8. खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
Exit mobile version