‘अखाद्य वस्तु बिक्री नगर’

हिन्दुहरूको पर्व सुरु भैसकेको छ । पर्वका बेला अन्य समयभन्दा बढी खरिददारी हुन्छ । पर्वका बेला अखाद्य वस्तुको बिक्री हुने गरेको विगतमा फेला पर्दै आएको छ । पर्वका बेला अनुगमन समेत बढी हुने गरेको छ । खाद्य वस्तु लगायतका मालसामानमा कैफियत भेटिदा व्यवसायीहरू कारवाहीमा पर्ने गरेका छन् ।

पर्वका बेला खरिददारी बढ्छ । तर सीमावारी भन्दा विना भन्सार सीमापारीको बजार पुग्ने क्रम पनि बढ्ने गर्दछ । दुवै विषयको सम्बोधनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायहरू सहभागितामा बुधबार नेपालगन्जमा सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले व्यवसायीबाट कुनै पनि त्रुटि नहोस् भनेर सचेत बनाउनका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए । उनले भन्सारको सही व्यवस्थापन नहुँदा नेपाली व्यवसायीले नोक्सान व्यहोरिरहेको समेत कार्यक्रममा उपस्थित नियामक निकायका प्रमुखहरूलाई जानकारी गराएका थिए ।

‘उपभोक्तालाई गुणस्तरीय वस्तु व्यवसायीले उपलब्ध गराउनु पर्छ’, अध्यक्ष धामीले म्याद नाघेका अखाद्य वस्तु बिक्री स्थलमा नराख्न व्यवसायीलाई आग्रह गर्दै भने ।

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलले स्वच्छ खाद्यान्नको महत्व, अखाद्य वस्तुले स्वास्थ्यमा पार्ने प्रभाव र अखाद्य वस्तु बिक्री हुँदा हुने कानुनी कारवाही लगायतका बारेमा प्रस्तुति राखेका थिए ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख पोखरेलले स्वच्छ खाद्यान्नका लागि उत्पादन गर्ने, भण्डारण गर्ने, बिक्री गर्ने सबै जिम्मेवार हुनुपर्ने बताए । ‘अखाद्य वस्तु बिक्री भएको फेला परे कानुन बमोजिम उत्पादक देखि बिक्रेतासम्मलाई कारवाही हुनसक्छ, कोही आफ्नो जिम्मेवारीबाट उम्कन मिल्दैन’, उनले भने ।

कार्यक्रममा व्यवसायीहरूले भन्सार नियमनको विषयलाई उठाउँदै बिग्रेको स्क्यानर मेसिन बनाउन आग्रह गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले व्यवसायीलाई क्यारिङ्गको मालसामान खरिद नगर्न सचेत गराउँदै सरकारी निकायले आफ्नो काम गर्ने धारणा राखे ।
नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले भन्सारको सही व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

संघका महासचिव भीम बहादुर रानाभाटले व्यवसायीको समस्या पटकपटक उठाउने काम मात्रै भएको तर सुनुवाई नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । रानाभाटले कर तिरेर व्यवसाय गर्ने व्यवसायीका मागको सम्बोधनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

संघ उपाध्यक्ष मन्दिरा पाण्डेले चाडपर्वका व्यवसायीबाट अखाद्य वस्तु बिक्री नहोस् भनेर सचेतनाका लागि कार्यक्रमको आयोजना गरेको बताइन् ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका विष्णु प्रसाद धिताल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, कृष्ण प्रसाद श्रेष्ठ, संघमा आबद्ध विभिन्न वस्तुगत संघ, संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version