बाँके र बर्दियाका सुरक्षा अधिकारीलाई भारतले किन बोलायो नान्पारा ?

नेपालगन्ज । भारतको अध्योयामा सोमबार नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको पूर्व सन्ध्यामा सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त काउन्टर पार्ट बैठक सम्पन्न भएको छ । सीमावर्ती भारतीय बहराईच जिल्लाको नान्पारामा आज उक्त बैठक सम्पन्न भएको हो ।

अध्योयामा हुने नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र आउँदो शुक्रबार गणतन्त्र दिवसमा सुरक्षा एवम् सुदृढ कानुनी व्यवस्था बनाउने विषयमा छलफल भएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् । उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ उपस्थित हुने छन् । जसका लागि भारतले सीमा क्षेत्रहरुमा पनि सुरक्षा निगरानी बढाउनुका साथै सुरक्षा अधिकारीहरु सँग बैठक गरिरहेको छ ।

सीमा क्षेत्रमा सुदृढ सुरक्षा व्यवस्था बनाउन सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीहरुले आपसी समन्वयका साथ कार्य गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती र पट्रोलिङ बढाउने जस्ता विषयमा छलफल भएको उक्त बैठकमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए ।

साथै उक्त बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ र जमुनाह नाकाको निरीक्षण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा नेपाली सुरक्षा अधिकारी बैठकमा सहभागी थियो । उक्त बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलसहित बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहरा, बर्दियाका प्रहरी प्रमुख सुधिर शाही, शसस्त्र प्रहरी बल बाँकेका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास श्रेष्ठ र बर्दियाका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाही सहभागी थिए । सीमावर्ती जिल्ला बहराईचका डिस्टृक मजिस्ट्रेट मोनिका रानी (एममी) को निमन्त्रण उक्त बैठक भएको हो ।

Exit mobile version