क्यान्सर समयमै पहिचान भयो भने निको हुन सक्छ । लक्षणको पहिचान समयमै नहुँदा जटिल भएपछि मात्रै मानिसहरू अस्पताल पुग्ने र त्यसले जीवन नै जोखिममा पर्ने गरेको छ । त्यस्तो अवस्थाको अन्त्य गर्ने उद्देश्यले नेपाल अर्बुद रोग निवारण संस्था, बाँके शाखा र नेपालगन्ज स्किन सेन्टरले शनिबार नेपालगन्जमा ‘क्यान्सर स्क्रिनिङ हेल्थ क्याम्प’ आयोजना गरे ।
आयोजक संस्था नेपालगन्ज स्किन सेन्टरका प्रमुख डा. अभिषेक अर्जेलका अनुसार, ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको शिविरमा आठ जनालाई क्यान्सर आशंकाका लक्षणहरू भेटिएको छ । ‘त्यसका आधारमा उनीहरूको थप उपचार तथा परीक्षणका लागि अगाडि बढाइएको छ’, ६ जना विशेषज्ञ चिकित्सकहरूको सहभागितामा भएको निःशुल्क स्वास्थ्य शिविरको आयोजनाबारे जानकारी दिंदै डा. अर्जेलले भने, ‘सबै बिरामीलाई गरिएको स्वास्थ्य परामर्शले उनीहरू क्यान्सर सचेतनाका लागि पक्कै सहयोग पुग्नेछ ।’
डा. अर्जेलका अनुसार ३ सय ५० बिरामी मध्ये १ सय ३ जना छाला रोग समस्या पाइएको थियो ।
शिविरमा डर्माटोलोजिष्ट डा. अर्जेलसँगै फिजिसियन डा. अल्टाबन राई, इएनटी सर्जन डा. अन्सु शर्मा, जनरल सर्जन डा. बिमर्श अधिकारी, डेन्टल डा. द्वारिका बजगाई र गाइनोलोजिष्ट डा. पुनम आचार्यले निःशुल्क स्वास्थ्य चेकजाँच तथा परामर्श गरेका थिए ।