भेरी अस्पताल नेपालगन्जले विगत लामो समयदेखि गरेको चिकित्सा अध्यापनको प्रयासले सार्थकता पाउने देखिएको छ ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले एमडी र एमएस विषयको अध्यापनका लागि महत्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् ।
अध्यक्ष शाहले अस्पतालले शुक्रबार पिजी कार्यक्रम (एमडी÷एमएस अध्ययन) का लागि नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) सँग सम्झौता गरेको जानकारी दिए ।
‘चिकित्सा अध्यापनको लागि विगतदेखि नै प्रयाससँगै तयारी पनि अघि बढिरहेको थियो’, अध्यक्ष शाहले भने, ‘हामी एमडी, एमएस अध्यापनका लागि पूर्वाधार तथा बजेट व्यवस्थापनका लागि तयार अवस्थामा छौं ।’
पिजी कार्यक्रमका लागि काठमाडौंमा भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र न्याम्सका उपकुलपति बीच सम्झौता भएको हो ।
न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुबेदीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष शाहले जानकारी दिए ।
अस्पताल विकास समितिका अध्यक्ष शाहले आगामी असोज २१ गते सम्झौताको विषय न्याम्सको सिनेटमा प्रस्तुत हुने र निर्णय हुने जानकारी दिएका छन् ।
सिनेटले सम्झौता पारित गरे भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरूले फ्याकल्टी पोष्ट प्राप्त गर्ने अध्यक्ष शाहले बताएका छन् ।
‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक गतिविधिलाई बढाउन आवश्यक छ’, अस्पतालका प्रमुख मसु डा. सुवेदीले सञ्चारमाध्यमसँग भनेका छन्, ‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरूले प्राध्यापक, सह–प्राध्यापक लगायतका पोस्टहरू पाउनेछन् ।’ त्यसैको आधारमा न्याम्सले एमडी÷एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउनेछ ।