जानकी गाउँपालिका बाँकेले चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रेका अखाद्य वस्तु र पसलहरू दर्ता नभई सञ्चालन भएको पाइएको छ ।
जानकी गाउँपालिकाको समन्वयमा वाणिज्य, आपूर्ति, खाद्यप्रविधि तथा गुण नियन्त्रक कार्यालय, नापतौल कार्यालय तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जानकी गाउँपालिकाको विभिन्न वडा रहेका पसलहरूको अनुगमन गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख हरि वहादुर खत्रीले अनुगमनका क्रममा पसलहरूमा म्याद गुज्रिएका वस्तुहरू, दर्ता नै नभएका व्यवसायहरू सञ्चालनमा आएको भेटिनुको जनगुनासो आएपछि अनुगमन गरेको कार्यालयका प्रमुख खत्रीले बताए । अनुगमनका क्रममा जानकी ६ गनापुरमा रहेको वन्डरल्यान्डको राएरा रेष्टुरेन्ट एन्ड बार र सोही ठाउँमै रहेको बिनोद किराना पसल गरि अन्य केही पसललाई ३५ हजारसम्म जरिवाना समेत गरि उनीहरूलाई सचेत गराइएको प्रमुख खत्रीले बताए ।
अनुगमनका क्रममा मासु पसलमा सरसफाईमा कमी रहेको र सरसफाई राम्रोसँग गर्न र खानेकुराहरूलाई छोपेर राख्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेकी प्राविधक सहायक लक्ष्मी ढकालले बताइन् ।
उपभोक्ता हित संरक्षण मंच नेपालगन्ज बाँकेका संयोजक बसन्त गौतमले मौसमी रूपमा मात्र नभई समय समयमा अनुगमन गर्नुपर्ने बताए । मंच नेपालगन्ज बाँकेका संयोजक गौतमले व्यवसायीको बदमासी र कालोबजारीका कारण उपभोक्ता मारमा परेको भन्दै सरोकारवाला निकायले अनुगमनलाई नियमित गर्नुपर्ने बताए ।
उपभोग्य वस्तुमा मिसावट, म्याद गुज्रेको र फोहर समेत भेटिएकोले जानकी गाउँपालिका बाँकेले अनुगमन गर्दा पालिकाको कार्यविधी अनुसार मापदण्ड बनाई विक्रीवितरण गर्न व्यवसायीहरूलाई सुझाव दिएको छ । कतिपय व्यवसायीहरू गैरकानुनी रूपमा सन्चालन भएको भन्दै दुईहप्ता भित्रामा कानुनी प्रक्रियामा आउन आग्रह गरेको छ ।
मासु पसल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूले इन्डियादेखि खुल्ला रूपमा चोरी निकासी गरि आउने कुखुराका कारण नेपाली व्यवसायीहरू मारमा परेको वडा नम्वर ४ का मासु व्यवसायी कुर्वान भाटले गुनासो गरे ।
अनुगमनका क्रममा व्यवसायीको मनोमानी र अखाद्य वस्तु मिसावटका कारण उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलवाड भएको छ भने कालोबजारीका कारण उपभोक्ताहरू मारमा परेका छन् ।